काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टि(इस्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको प्रतिक्रिया दिएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले जग्गा बिक्रीको निर्णय गरेर कांग्रेसलाई मुछेको आरोप लगाएका हुन् ।
बुधबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले जग्गा बिक्री गर्ने निर्णय कांग्रेसको पालामा भएको आरोप लगाएका थिए ।ओलीलाई जवाफ दिंदै बिहीबार देउवाले भनेका छन्, ‘ओलीजी आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ । कहिले, कसको पालामा भयो, के भयो? भनिदिए भइहाल्यो नी । आफूले गरेको कुरा, गरेको हो भन्न के आपत्ति छ ?’
देउवाले अगाडि भने, ‘अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने कांग्रेसको पालामा भएको छ । कांग्रेसको पालामा गिरिजाबाबु र म हो, हाम्रो पालामा भएकै छैन ।’देउवाले केपी ओली जस्तो नेताले नभएको आरोप लगाउन नहुनेसमेत बताएका छन् ।








