गर्मी मौसम सुरु भएसँगै आइसक्रिमको खपत तीव्र रूपमा बढ्न थालेको छ। तर स्वादिलो देखिने यो खानेकुराले केही व्यक्तिका लागि स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ। विशेषज्ञहरूका अनुसार केही विशेष अवस्थाका व्यक्तिहरूले आइसक्रिमको सेवनबाट टाढा रहनु अत्यावश्यक छ।
कस्ता व्यक्तिले आइसक्रिम खानु हुदैन भन्नेबारे हामी तपाईलाई जानकारी दिनेछौ।
१ .मधुमेहका बिरामीहरूका लागि जोखिमपूर्ण : आइसक्रिममा अत्यधिक मात्रामा चिनी प्रयोग गरिने हुँदा मधुमेह (डायबेटिक) बिरामीहरूका लागि यसको सेवन अत्यन्त हानिकारक मानिन्छ। एकैपटक चिनीको मात्रा अत्यधिक बढ्नाले रक्तचाप र रगतमा सुगरको स्तर अनियन्त्रित बन्न सक्ने चिकित्सकहरूको चेतावनी छ।
२. मुटुका रोगीहरूले पनि गर्नुहोस् परहेज : आइसक्रिम तयार गर्दा विभिन्न रसायन तथा हानिकारक पदार्थहरूको प्रयोग गरिने हुनाले मुटु रोगीका लागि समेत यो खतरा हुन सक्छ। उच्च कोलेस्ट्रोलयुक्त सामग्री र ट्रान्स फ्याटले मुटुको कार्यक्षमता घटाउने खतरा रहन्छ।
३. दाँतको लागि पनि बनिदिन्छ समस्याको कारण : दैनिक वा अत्यधिक मात्रामा आइसक्रिम सेवन गर्नाले दाँतमा गुफा (cavity) हुने सम्भावना बढ्छ। चिसो पदार्थले दाँतको इनामेल कमजोर बनाउने र दाँत दुख्ने, सड्ने जस्ता समस्या निम्त्याउन सक्छ। नियमित रूपमा दाँत सफा नगर्ने बानीले समस्यालाई अझ गम्भीर बनाउँछ।
४. मोटोपन बढाउने प्रमुख कारणहरू मध्ये एक : विश्वभर मोटोपन बढ्ने दर तीव्र छ र यसको पछाडि गलत खानपान प्रमुख कारण हो। आइसक्रिममा पाइने उच्च क्यालोरी र चिनीको मात्रा तौल बढाउने प्रमुख कारक हो। यदि तपाईं तौल घटाउने प्रयत्नमा हुनुहुन्छ भने आइसक्रिम सेवन तत्काल रोकिनु उपयुक्त हुन्छ।
स्वास्थ्य विशेषज्ञहरू भन्छन्, “स्वादको मोहमा स्वास्थ्यलाई जोखिममा राख्नु बुद्धिमानी होइन।” त्यसैले विशेष गरेर मधुमेह, मुटु रोग, दाँतको समस्या र मोटोपनबाट पीडित व्यक्तिहरूले आइसक्रिम जस्तो चिल्लो तथा चिनीयुक्त पदार्थबाट टाढा रहनु नै सुरक्षित हुन्छ।







