काठमाडौँ। राजावादीहरूले जेठ १५ गतेदेखि थालेको आन्दोलन आइतबार तेस्रो दिनमा प्रवेश गर्दा काठमाडौंको नारायण चौरमा तनाबपूर्ण अवस्था सिर्जना भएको छ। राप्रपा, राप्रपा नेपालसहितका राजावादी दलहरूको संयुक्त आन्दोलन समितिको नेतृत्वमा सुरु भएको जुलुस प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउने उद्देश्यले अघि बढेको थियो।
तर, नारायण चौरमै तैनाथ प्रहरी बलले जुलुसलाई अवरोध गर्यो। त्यसक्रममा राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापा सहितका नेताहरूलाई प्रहरीले पक्राउ गर्यो र झुन्ड्याउँदै लगेको दृश्य सार्वजनिक भएको छ।
प्रहरी हस्तक्षेपपछि केहीबेर धकेलाधकेल र नाराबाजी पनि भएको थियो। आन्दोलनकारीहरूको चर्को विरोधबीच प्रहरीले जमात नियन्त्रणमा लिएको हो।
सभा स्थलमै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्दै, ‘शान्तिपूर्ण आन्दोलनमा जबरजस्ती हस्तक्षेप भयो भने प्रतिकार गर्न पछि नहट्ने’ चेतावनी दिएका थिए।







