काठमाडौं । विगतमा गुन्डागर्दीमा संलग्न भएको आरोप लागेका चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जनालाई कुन कसुरमा मुद्दा चलाउने भन्नेबारे प्रहरीले परामर्श सुरु गरेको छ ।
पक्राउ परेका ४७ जनाका बारेमा अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कुन मुद्दा चलाउने भन्नेबारे छलफल सुरु भएको छ ।रानीपोखरीका एआईजी टेकबहादुर तामाङले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेत र जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीलाई बोलाएर यसबारे गृहकार्य सुरु गरेका छन् । त्यसपछि मात्रै के मुद्दा चल्ने भन्ने यकिन हुने परिसरका एक अधिकारीले बताए । ‘अहिले एआईजी कार्यालयमा यसबारे छलफल भइरहेको छ । त्यसपछि मात्रै कुन कसुरमा मुद्दा चलाउने भन्ने यकिन हुन्छ,’ ती अधिकारीले भने ।
पक्राउ परेका मध्ये उनीहरुको भूमिका र संलग्नता हेरेर मुद्दा चलाइने प्रहरीले बताएको छ । गत १३ माघमा अपराध अनुसन्धान कार्यालयले सामजलाई आतंकित पार्दै केट काटेको आरोपमा ७ जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको थियो । त्यति उनीहरु मुद्दै नचली छुटेका थिए । सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेपछि उनीहरू रिहा भएका थिए ।
बिहीबार राति महाराजगञ्ज क्षेत्रको बाँसबारी रोडमा रहेको होटल साम्बालाबाट चक्रेसहित ४७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको एउटा गाडीबाट २ थान खुकुरी बरामद भएको छ । साथै केही थान रडहरु पनि बरामद भएका छन् । गाडीको लावालस्करसहित बाटो समेत अवरुद्ध गरेर चक्रेलाई स्कर्टिङ गरेको भिडिओ सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निगरानी बढाएको थियो ।
त्यसपछि बिहीबार राति अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भद्रकालीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । चक्रेसहित ४७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । अहिले उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।







