नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले २० कात्तिकमा काठमाडौंमा आयोजना हुने बृहत् आमसभामा सहभागी हुन देशभरका जनतालाई आह्वान गरेका छन् ।
विप्लवले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै स्वाधीनता र समाजवादका पक्षमा एकजुट हुन सबैलाई आग्रह गरेका हुन् । उनले देशको रूपान्तरणको जिम्मेवारी बाह्य शक्तिले नभइ नेपाली जनताले नै लिनुपर्ने उल्लेख गर्दै जनसहभागितामार्फत मात्र स्वाभिमानी र समृद्ध नेपाल सम्भव हुने स्पष्ट पारेका छन् ।
विप्लवले आफ्नो सन्देशमा लेखेका छन्, ‘नेपाललाई अरूले होइन, हामी आफैंले फेर्ने हो । अरूले होइन, नेपालीले नै चलाउने हो । जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल र परजीवीहरू समाप्त हुनेछन्, देशले आत्मसम्मानसहित उन्नती हासिल गर्नेछ । स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेटौँ, साथीहरू ।’
उनका अनुसार पार्टीको अभियान स्वाधीनता, न्याय र समाजवाद स्थापनाको पक्षमा केन्द्रित छ । उनले राजनीतिक, आर्थिक र सामाजिकरूपमा आत्मनिर्भर नेपाल निर्माणका लागि सबै वर्ग र क्षेत्रका नागरिकलाई सचेत र सक्रिय हुन पनि आग्रह गरेका छन् ।







