भदौ २४ को हिंसात्मक प्रर्दशनपछि काठमाडौंस्थित चुच्चेपाटी, सुनसरीको इटहरी र मोरङको भाटभटेनी सुपरमार्केटमा भेटिएका १२ वटा शवको डेढ महिनासम्म पहिचान खुल्न सकेको छैन ।
जलेको अवस्थामा मानव कंकाल भेटिएकाले पोस्टमार्टम र डीएनए परीक्षणसमेत हुन नसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ती शव आफन्तको भनेर दाबी गर्न कोही पनि सर्म्पकमा पनि आएका छैनन् ।
चुच्चेपाटीमा भेटिएका ७ वटा शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । इटहरीमा ४ र मोरङमा १ शव भेटिएको थियो । ती शवको डीएनए परीक्षण गर्न प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको छ ।
चुच्चेपाटीस्थित भाटभटेनीमा फेला परेका कंकाल त्रिवि शिक्षण अस्पतालमा ७ वटा प्लास्टिकका पोकामा राखिएको छ । उनीहरूको अस्थिपञ्जर मात्र फेला परेको र मृत्युको कारणसमेत खुल्न नसकेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईको भनाइ छ । ‘यी शव पूर्णतः जलेका अवस्थामा छन् । परिवार, आफन्त कोही दाबी गर्न पनि आएका छैनन्,’ उनले भने, ‘डीएनए परीक्षण गर्न सकिन्छ कि भनेर प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाएका छौं, कुनै रिपोर्ट आएको छैन ।’ लगभग पूर्ण रुपमा शवहरु जलेकाले स–साना प्लास्टिकका पोका बनाएर छुट्टाछुट्टै शिक्षण अस्पताल फरेन्सिक विभागले जनाएको छ ।







