राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको माग गर्दै मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् ।
उनले आन्दोलन हिंसात्मक नभई शान्तिपूर्ण हुने स्पष्ट गर्दै भने, ‘यो बन्दुक, बारुद बोकेर सिंहदरबारमा आगो लगाउने वा नागरिकका घर जलाउने आन्दोलन होइन।’
यो अभियान पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका १४ अञ्चल, ७५ जिल्ला र १६५ निर्वाचन क्षेत्रसम्म सञ्चालन हुने उनको भनाइ छ । मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँगको भेटपछि प्रसाईंले पत्रकारहरूसँग कुरा गर्दै मङ्सिर ७ गते नै आन्दोलन सुरु हुने घोषणा गर्नुपरेको बताए।
मङ्सिर ७ गतेलाई प्रतीकात्मक रूपमा उल्लेख गर्दै उनले भने, ‘यो दिन दिल्लीमा भएको १२ बुँदे सहमतिले देशको राजसंस्था र हिन्दु अधिराज्य समाप्त भयो, जसपछि देश विदेशी प्रभावमा पर्यो ।’ उनले यो अभियानलाई पशुपति र माता दुर्गाको रक्षा गर्ने र विदेशिएका नेपालीहरूलाई घर फर्काउने अभियानका रूपमा व्याख्या गरे ।
प्रसाईंले सबै नागरिकलाई आन्दोलनका लागि तयारी गर्न आग्रह गर्दै आवश्यक इन्धन र दैनिक उपभोग्य वस्तुहरू भण्डारण गर्न सुझाए । मानव अधिकार आयोगलाई आन्दोलनको अग्रिम जानकारी पनि दिइएको उनले बताए ।







