विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेले पनि फागुन २१ गते घोषित निर्वाचनमा भाग लिन मंगलबार निर्वाचन आयोगमा दल दर्ता गरेको छ। आयोगले बुधबारसम्म दल दर्ताका लागि समय तोकेको छ। मंगलबार मात्रै एमालेसहित ९ दल दर्ता भए। जेन–जी आन्दोलनको बलमा भएको प्रतिनिधिसभा विघटनलाई एमालेले ‘असंवैधानिक’ भन्दै आन्दोलन गरिरहेको छ। कांग्रेससहितका विघटित संसद्मा रहेका अरू दलले आयोगमा दल दर्ता गरेका भए पनि एमालेले के गर्छ ? भन्ने अन्योलता थियो। तर, मंगलबारसम्म नयाँ पुराना ८० दल निर्वाचन प्रयोजनका लागि दर्ता भएपछि देश चुनावतर्फ अघि बढेको जानकारहरू बताउँछन्।







