त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच र दोस्रो खेल अपराह्न ४ः०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ । पाँच खेलबाट चार अंक मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौंले भने छ खेलबाट आठ अंक जोडेको छ । यस्तै, प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन् ।सुदूरपश्चिम १० अंकका साथ शीर्ष स्थानमा छ । पाँच खेलबाट चार अंक जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ ।







