यसअघिका खेलहरू नियाल्दा लुम्बिनी लायन्ससँग प्रेसरमा पनि सम्हालिएर खेल्न सक्ने क्षमता तुलनात्मक रूपमा बढी देखिन्छ । किनभने, यसअघि लुम्बिनीका प्राय खेल नकआउटजस्तै थिए- हारेपछि बाहिरिने खालका । लिग चरणमा लुम्बिनीले जनकपुरसँग हारेको हुन्थ्यो भने शायद घर फर्किसकेको हुन्थ्यो । किनकि, उसको जति ६ अंक बनाएर अर्को टिमले प्लेअफमा स्थान बनाउन सक्थ्यो । विराटनगरको हकमा ठ्याक्कै यसै भन्न सकिँदैन । किनकि, ‘हाइप्रेसर’ खेलमा उसले सम्हालिएर खेलेको देखिएको छैन । पछिल्ला दुई खेल हेर्दा लिग चरणमा विराटनगरले सुदूरपश्चिमलाई जुन शानका साथ हरायो, पहिलो क्वालिफायरमा उस्तै लज्जास्पद हार्यो ।कमजोरी नियाल्दा विराटनगरको मध्यक्रम (मिडल अर्डर) ब्याटिङमा समस्या छ । टपअर्डर नचल्दा यसको प्रेसर मिडल अर्डरले थाम्न सकेको देखिँदैन । कर्णाली याक्सविरुद्ध बसिर अहमदले जे गरे, मिडल अर्डरबाट त्यो अरु खेलमा देख्न पाइएको छैन । टपअर्डरमा साम हिजलेट, फाफ डुप्लेसिस र मार्टिन गप्टिल चले भने विराटनगर अघि बढ्यो, अन्यथा भन्न सकिन्न । किनकि, यी तीन सुरुवातकर्ता चलेनन् भने विराटनगरले ‘डिजास्टर’कै सामना गर्नुपर्ने हुन्छ । यो सुदूरपश्चिमविरुद्धको खेलमा देखिएकै हो ।







