एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ एसिया कप शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरू हुँदैछ । यू–१९ एसिया कपको यो १२औँ संस्करण हो ।प्रतियोगिता डिसेम्बर १२ तारिखसम्म सञ्चालन हुनेछ । यू–१९ एसिया कप ५० ओभरको खेल हो । प्रतियोगितामा नेपालसहित आठवटा टोलीको सहभागिता रहेको छ ।टेस्ट राष्ट्रको समेत सहभागिता रहने भएकाले एसोसिएट सदस्य राष्ट्रका लागि यो प्रतियोगिता निकै महत्वपूर्ण छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।समूह ‘ए’ मा भारत, पाकिस्तान, मलेसिया र आयोजक यूएई रहेका छन् । समूह ‘बी’ मा नेपाल, अफगानिस्तान, बंगलादेश र श्रीलंका परेका छन् ।प्रतियोगिताको पहिलो दिन समूह ‘ए’ को दुई खेल खेलिने छ । पहिलो दिनको खेलमा भारतले आयोजक यूएईको सामना गर्नेछ । उक्त खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा १०:४५ बजे शुरू हुनेछ ।पहिलो दिनको अर्को खेल पाकिस्तान र मलेसियाबीच खेलिने छ । उक्त खेल दुबईस्थित द सेभेन्स स्टेडियममा सोही समयमा शुरू हुनेछ ।नेपालले भने आफ्नो पहिलो खेल शनिबार श्रीलंकासँग खेल्नेछ । नेपाल र श्रीलंकाबीचको खेल द सेभेन्स स्टेडियममा नेपाली समय अनुसार, बिहान १०:४५ बजे शुरू हुनेछ ।नेपालले आफ्नो दोस्रो खेल डिसेम्बर १५ तारिखमा बंगलादेशसँग र तेस्रो खेल डिसेम्बर १७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमीफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उप–विजेतासँग भिडन्त गर्नेछ ।समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उप–विजेताबीच अर्को सेमिफाइनल खेल खेलिने छ । दुवै सेमिफाइनल खेल डिसेम्बर १९ तारिखमा हुनेछ ।







