गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अलपत्रपरेपछि विवादमा तानिएका हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) अमेरिका पुगेका छन् । अमेरिका पुगेपछि धुर्मुसले सामाजिक सञ्जालमा झण्डै चार हजार (३९ सय ६२) शब्द लामो बकपत्र जारी गरेका छन् । जसमा उनले आफू छोरीको उपचारका लागि केही दिनअघि अमेरिका पुगेको जानकारी दिएका छन् । बकपत्रमा क्रिकेट रङ्गशाला निर्माणको आंकाक्षादेखि सहयोग संकलन र निर्माण अलपत्र पर्दासम्मका कुरा समेटेका छन् ।उनले सहयोग गर्ने कबुल गरेका दाताहरूले रकम उपलब्ध नगराउँदा रङ्गशाला निर्माण अलपत्र परेको र त्यसपछि धुर्मुस–सुन्तली फाउन्डेसन आर्थिक संकटमा परेको जनाएका छन् ।अहिले छोरीको उपचारका लागि अमेरिकामा रहे पनि रङ्गशालाको समस्याबाट मुक्त गराएर कलाकारितामा रम्ने वातावरण सिर्जना गरिदिन सरकारसमक्ष अपिल गरेका छन् । छोरीको उपचारपछि छिट्टै नेपाल फर्किने उनको भनाइ छ ।उनका अनुसार रंगशाला निर्माणका क्रममा उधारोमा ल्याइएका निर्माण सामग्रीको १८ करोड ४३ लाख रुपैयाँ भुक्तानी आजसम्म नआएको र त्यो रकम उनकै टाउकोमा ऋणझैँ थामिन बाध्य भएको छ।उनले ५९ करोड ९० लाख रुपैयाँ बराबरको संरचना भरतपुर महानगरलाई बुझाएको र २ करोड ४६ लाख बराबरको स्टक सामग्री पनि हस्तान्तरण गरेको दाबी गरेका छन् । विभिन्न निकायबाट ६–७ पटक छानबिन भए पनि एक रुपैयाँ हिनामिना भएको प्रमाण भेटिएको नभेटिएको भन्दै उनले आफूलाई क्लिन–चिट मिलिसकेको दाबी गरेका छन् ।







