काठमाडौँ । नेपाली काँग्रेस कैलाली जिल्लाका उप–सभापति भीम बडूवालको कारबाही प्रक्रिया फिर्ता लिन नेपाली काँग्रेस घोडाघोडी नगर कार्यसमितिले माग गरेको छ । जिल्ला सभापति नारायण दत्त भट्टले एकलौटी निर्यणद्धारा राजनीतिक पूर्वाग्रह राखी बिना कारण कारबाही प्रक्रिया बढाएकोमा नगर कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ ।बिना कारण केन्द्रीय अनुशासन समितिमा नाम सिफारिस गरिएको सुनिन आएकोमा तत्काल नाम फिर्ता लिन समेत नेपाली काँग्रेस घोडाघोडी नगर कार्यसमितिले माग गरेको छ । विज्ञप्तिमा भनिएको छ “कारबाही प्रक्रिया अपमानजनक भएको र व्यक्तिगत पूर्वाग्रह राखिएको देखिएकाले हामी यो कारबाही फिर्ता गरी पार्टी भित्र एकता, सहमति र सहकार्य गरी अघि बढ्न आग्रह गर्दछौँ ।”जिल्ला उप–सभापति भीम बडूवाल माथिको कारबाहीको सम्पूर्ण प्रक्रिया फिर्ता नलिए सम्म वडा देखी नगर सम्मेलन स्थगित गर्ने निर्णय गरेको नेपाली काँग्रेस घोडाघोडी नगर कार्यसमितिले जनाएको छ ।श्रावण २२ गते पार्टी सभापति नारायण दत्त भट्टले कैलाली क्षेत्र नम्बर ४ का नेता लोकराज पाण्डे (आगो) र सुरत बहादुर कार्कीलाई कारबाही गरिएपछि उपसभापति भीम बडूवालले कारबाही विधिसम्मत नभएको भन्दै लेटर प्याडमा अर्को सूचना जारी गरेका थिए । त्यसै दिनदेखि सभापति नारायण दत्त भट्ट र उप–सभापति भीम बडूवाल बिच खुल्ला रूपमा मतभेद हुन सुरु भएको हो ।सुरुमा जिल्ला सभापतिले उपसभापतिलाई स्पष्टीकरण सोधेको र स्पष्टीकरण नदिएपछि अनुशासन समितिले कारबाहीको सिफारिस गरेको थियो । कैलाली जिल्ला अनुशासन समितिले भदौ २६ गते उप–सभापति भीम बडूवालले जिल्ला कार्यसमितिको पत्र,चलानी नं. र छाप अनाधिकृत रूपमा प्रयोग गरेको भन्दै प्रदेश अनुशासन समितिले कारबाहीको लागि सिफारिस गरिएको थियो ।








