गृहमन्त्री ओमप्रकाश अर्यालसँग मुस्लिम समुदायका तीन छुट्टा-छुट्टै समूहका प्रतिनिधिहरू र राष्ट्रिय सभा सदस्य समेतले गृह मन्त्रालयमा आज सामूहिक भेटवार्ता गरेका छन्।भेटमा मुस्लिम समुदायबाट राष्ट्रिय मुस्लिम समन्वय समितिका पदाधिकारी र संघीय लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरूले आइतबार गृहमन्त्रीसँग सामूहिक भेटवार्ता गर्दै समुदायले ज्ञापन पत्रसमेत बुझाएका छन्।भेटमा समुदायले बुझाएका दुई छुट्टाछुट्टै ज्ञापन पत्र बुझ्दै गृहमन्त्री अर्यालले एक अर्काको धर्म र सम्प्रदायमाथि खलल पुर्याउने जो कोहीलाई सरकार र गृह प्रशासन तुरून्त कारबाहीको दायरामा ल्याउन कटिबद्ध रहेको बताए। मुस्लिम समुदायका सदस्यहरूले बुझाएको ज्ञापन पत्रको सम्बन्धको सरकारको गम्भीर ध्यानाकर्षण भएको गृहमन्त्री अर्यालले बताए।मन्त्री अर्यालले प्रदेश र जिल्लातहमा धार्मिक आस्था र सहिष्णुता कायम गर्नु नै अहिलेको प्रमुख आवश्यकता रहेको हुँदा सबै धर्म र सम्प्रदायले अहिले उत्तिकै ख्याल गर्दै आफ्ना गतिविधिलाई संयमित गर्नु पर्नेमा जोड दिए।‘कानुन हात लिएर कसैले कुनै शक्ति र समूहमा आबद्धता भएकै नाममा गैर-कानुनी कार्य गर्छ भने त्यसलाई सरकारले आवश्यक कारबाहीको दायरामा ल्याउनेछ,’ मन्त्री अर्यालले भने।भेटका राष्ट्रिय मुस्लिम समन्वय समितिबाट मोहम्मद युनुस अहमर (हास्मी), मौलाना मजरुल हसन लगायतका प्रतिनिधिले मुस्लिम समुदायमा बढ्दै गइरहेका केही असामाजिक, धार्मिक सहिष्णुता भड्कने खालका गतिविधि र आगामी फागुन २१ गतेको निर्वाचनका लागि शान्ति सुव्यवस्था खलबलिन सक्ने वातावरण तर्फ समुदायका प्रतिनिधिहरूले मन्त्री अर्यालको ध्यानाकर्षण गराएका हुन्।







