रिमा विश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा यथावत् रहने भएकी छन्। रास्वपाले आइतबार अद्यावधिक गरेको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीमा उनको नाथ यथावत् राखिएको छ। कलाकार विश्वकर्मा दलित क्लस्टरतर्फ महिलाको सुरूआती सूचीमा छिन्।शनिबार रास्वपासँग एकता गरेको उज्यालो नेपाल पार्टी अलग्गिएपछि रास्वपाले आजै निर्वाचन आयोग गएर बन्दसूची अद्यावधिक गरेको थियो। त्यसमा विश्वकर्माको नाम यथावत राखिएको हो।‘राष्ट्रिय स्वतन्त्र पार्टीले अद्यावधिक गरेको बन्द सूचीमा रिमा विश्वकर्माको नाम यथावत छ,’ प्रवक्ता मनिष झाले सेतोपाटीसँग भने। विश्वकर्मा उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति सदस्य थिइन्। पार्टी रास्वपाबाट अलग भएपछि त्यस पार्टीका एक नेताले विश्वकर्मालाई उज्यालो पार्टीले बनाइरहेको समानुपातिक सूचीमा समेट्ने विषयमा सोधेका थिए। जबाफमा विश्वकर्माले आफू समानुपातिक सूचीमा नरहने, प्रत्यक्षमा उम्मेदवारी दिनसक्ने बताएकी थिइन्।रिमाले स्पष्ट जबाफ नदिएपछि उज्यालो पार्टीले उनलाई नसमेटी अन्य पार्टीसँग मिलेर समानुपातिक सूची बुझाउने तयारी गरिरहेको छ।‘अब हामी अर्को दलसँग मिलेर अर्को समानुपातिक सूची बुझाउँछौं,’ ती नेताले भने, ‘समानुपातिकमा एउटा चिह्नमा र प्रत्यक्षमा बलिरहेको बिजुलीको चिम चिह्नमा मत माग्छौं।’







