बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा हुने टी–२० विश्वकपका खेलहरू नखेल्ने आफ्नो अडान कायम राखेको छ। याहू स्पोर्ट्सका अनुसार, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग भिडियो कन्फरेन्समार्फत कुराकानी भए पनि बंगलादेशले सुरक्षा चिन्ताको कारण भारत यात्रा नगर्ने स्पष्ट पारेको छ।बीसीबीले आईसीसीलाई आफ्ना खेलहरू भारतबाहिर सार्न आग्रह गरेको छ। यद्यपि, आईसीसीले प्रतियोगिताको तालिका पहिले नै सार्वजनिक भइसकेको भन्दै पुनर्विचार गर्न भनेको छ। दुवै पक्षबीच यस विषयमा छलफल जारी राख्ने सहमति भएको छ।टी–२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन्। प्रतियोगिता फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ। बंगलादेशले भारतका कोलकातामा तीन र मुम्बईमा नेपालसँगको समूह चरणको खेल खेल्ने तालिका छ।बंगलादेशले भारतमा खेल सार्न आग्रह गर्नुको कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएल टोली कोलकाता नाइट राइडर्सलाई बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाउन निर्देशन दिएको घटना हो।







