नेपाल एथ्लेटिक्स संघले वर्ल्ड एथ्लेटिक्स सिइसिएस लेभल वान कोर्स सुरु गरेको छ ।एथ्लेटिक्स खेलको विकास गर्नेका लागि योग्य प्रशिक्षकहरुको उत्पादन गर्ने उदेश्यका साथ उक्त कोर्स आयोजना गरिएको संघले जनाएको छ ।नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले शुक्रबार त्रिपुरेश्वरस्थित संघको हलमा आयोजित एक कार्यक्रमकाबीच कोर्सको उद्घाटन गरे ।संघका अध्यक्ष शाहले एथ्लेटिक्स खेलको विकासका लागि सुरुमा योग्य प्रशिक्षक उत्पादन गर्नुपर्ने र त्यसपछि मात्र राम्रो खेलाडी उत्पादन गर्न सकिने बताए ।शाहले एथ्लेटिक्स संघले प्रतियोगिता आयोजना मात्र नभए प्रशिक्षकहरुका लागि कोर्स आयोजना गर्ने लगायत विभिन्न कार्यक्रमहरु गर्ने बताए । उनले एथ्लेटिक्स संघले वर्ल्ड च्याम्पियनसिप देखि एसियन च्याम्पियनसिप, साउथ एसियन च्याम्पियनसिप लगायत अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि जनाइरहेको बताए ।यस्तै वर्ल्ड एथ्लेटिक्सबाट वार्षिक १५ हजार डलर प्राप्त हुने र त्यसले मात्र संघले सबै गतिविधि गर्न नसक्ने भएकोले राष्ट्रिय खेलकुद परिषद देखि निजी क्षेत्रहरुले पनि सहयोग गर्नुपर्ने बताए ।संघका महासचिव सन्जिव तुलाधरले एथ्लेटिक्स संघले खेल मात्र नभएर प्रशिक्षकहरुको विकासका लागि समेत कोर्स आयोजना गर्ने प्रयास गरेको र त्यसको सुरुवात भएको बताए ।दुई चरण आयोजना हुने उक्त कोर्समा कूल ६० जना सहभागि हुने संघका सचिव आरके विष्टले जानकारी दिए । उनका अनुसार पहिलो चरण माघ २ देखि ६ गतेसम्म हुनेछ र त्यसमा ३० जना सहभागि हुनेछन् । यस्तै माघ ८ देखि १२ गतेसम्म हुने दवस्रो चरणमा पनि ३० जना सहभागि हुने विष्टले जानकारी दिए ।







