अमेरिकी दूतावासको आयोजनामा यसवर्षको ‘क्रिएटर्स मेला २०२६’ सुरु भएको छ । शनिबार चितवनको होटल सिराइचुलीबाट चौंथो संस्करणको मेला सुरु भएको हो ।यससँगै नेपालको ‘डिजिटल क्रिएटर’ इकोसिस्टमलाई सशक्त बनाउने उद्देश्यसहित बहु-सहर कार्यक्रमको औपचारिक सुरुवात भएको पनि दूतावासले जनाएको छ ।चितवनमा पहिलो पटक आयोजना गरिएको मेलामा ८०० भन्दा बढी युवा तथा उदीयमान डिजिटल क्रिएटर्सको सहभागिता थियो । दिनभर चलेको कार्यक्रममा दुईवटा हलमा समानान्तर रूपमा प्यानल छलफल, स्पटलाइट संवाद, प्रयोगात्मक कार्यशाला, प्रत्यक्ष प्रस्तुति तथा प्रमुख पिच टु सक्सेस कार्यक्रम सञ्चालन गरिएका थिए ।चितवन कार्यक्रममा प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ, आनन्द बगरिया र सन्ध्या केसीजस्ता वक्ता र कलाकारको उपस्थिति थियो । साथै टुबी गेमर, इभा गिरी, श्रीशेष मानन्धर, एकता तन्डुकार, नेपाल एट्थ वन्डर र द- केओएस लगायतका क्रिएटर्सले पनि अनुभव बाँडे ।कार्यक्रम समापन चर्चित गायक याबेश थापाको प्रत्यक्ष सांगीतिक प्रस्तुतिसँगै गरिएको थियो । मेलाले १० माघमा नेपालगञ्जमा निरन्तरता पाउनेछ भने १६ र १७ माघमा काठमाडौंमा दुईदिने फिनाले आयोजना हुनेछ ।काठमाडौं कार्यक्रमको मुख्य आकर्षणमा ‘पिच टु सक्सेस’ रहनेछ, जहाँ छनोट गरिएका क्रिएटर्सले नेपालका अग्रणी कर्पोरेट नेतृत्वसमक्ष आफ्ना व्यवसायिक अवधारणा प्रस्तुत गर्दै प्रत्यक्ष प्रतिक्रिया र मार्गदर्शन प्राप्त गर्नेछन् ।यस वर्षको विषयवस्तु ‘भिजन टु भेन्चर’ राखिएको छ । यसको उद्देश्य डिजिटल कथावाचन र व्यवसायिक उद्यमशिलताको दूरी घटाउनु रहेको दूतावासले जनाएको छ । प्रविधि, डिजिटल प्लेटफर्ममार्फत हुने आम्दानी र डिजिटल व्यवसाय विकासमा रहेको अमेरिकी विज्ञतालाई समेट्दै मेलाले क्रिएटर्सलाई आफ्नो सिर्जनात्मक प्रभावलाई दीर्घकालीन पेशा र व्यवसायमा रूपान्तरण गर्न सहयोग गर्ने जनाइएको छ ।“क्रिएटर्स मेला २०२६ ले नेपालको रचनात्मक अर्थतन्त्रलाई सुदृढ बनाउने अमेरिकाको प्रतिबद्धता झल्काउँछ,” नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, “ज्ञान, सीप र सञ्जाल विस्तारमार्फत हामी उद्यमशीलता र रोजगारी सिर्जनालाई सहयोग गरिरहेका छौँ ।’उनले नेपाली क्रिएटर्सलाई स्थानीय प्रभावमा मात्र सीमित नराखी अमेरिकी व्यावसायिक साझेदार तथा विश्वव्यापी बजारमा सफल हुने अवसरतर्फ अघि बढाउन हामी प्रतिबद्ध रहेको पनि बताए । सन् २०२३ मा सुरुवात भएको क्रिएटर्स मेलाको यसवर्ष चौंथो संस्करण हो ।







