सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सातौं सिजनमा लाइभ शोको समीकरण पूरा भएको छ । पछिल्लो दुई सप्ताहन्तबाट १६ जना प्रतिस्पर्धी आगामी चरणमा प्रवेश गरे ।आउने शुक्रबारदेखि सुरु हुने लाइभ शोमा दर्शकको भोटिङको आधारमा ट्यालेन्ट रहने वा बाहिरिने टुंगो लाग्नेछ । यो सिजनदेखि हरेक समूहभित्रका ४ जना प्रतिस्पर्धीबीच मात्र भोटिङ हुनेछ । कम मत ल्याउने बाहिरिनेछन् ।भोटिङ शनिबारदेखि नै खुलेको छ । आउने शुक्रबार र शनिबार लाइभ राउन्ड हुनेछ । एक एपिसोडबाट दुईजना बाहिरिनेछन् । निर्देशक लक्ष्मण पौड्यालले भोटिङ शैलीमा केही परिवर्तन ल्याइएको बताए ।‘पहिला १२ जनामध्येबाट एक-एक जना बाहिरिन्थे । यसपटक भने आफ्नो टिमसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ’ उनले भने । फिनाले ‘भ्यालेन्टाइन्स डे’ को अवसरमा २ फागुनमा आयोजना हुनेछ ।







