काठमाडौँः सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गरेका छन्।शनिवार संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अर्थमन्त्री वर्षमान पुनले नेकपा (माओवादी केन्द्र) प्रति ढल्किएको बजेट ल्याउनुभएको टिप्पणी पनि गरे। बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको उल्लेख गर्दै उहाँले बजेट निर्माणमा प्रक्रियामा नै कमीकमजोरी सरकारले गरेको दाबी गरे।अध्यक्ष ओलीले बजेटमा कमी भएको औंल्याए पनि सो बजेटलाई समर्थन र पारित गरेर जाने एमालेको नीति रहेको पनि स्पष्ट पारे। उनले सरकारले प्रस्तुत गरेको बजेटमाथि आफ्नो पार्टीले खुलेर छलफल गर्न चाहेको पनि बताए।उनले भने, ‘अहिले हामीसँग प्रश्तुत भएको बजेट वक्तव्यसँग सम्बन्धित र खासगरी करका दरहरुसँग सम्बन्धित खास गरी भन्सार र आयकर सम्बन्धि अरु विभिन्न प्रकारका करहरु सम्बन्धि या सम्पूर्ण आयको अनुमानसम्बन्धि र व्ययका क्षेत्रहरु र अनुमानमा आधारित भएर कस्तो खालको दिशा समेटेको छ बजेटले । हामी जानुपर्ने कतो हो ? सैद्धान्तिक रुपमा कस्तो दिशा समातेको छ ? यी विषयहरुमा केन्द्रित भएर छलफल गर्नेछौँ । अरु छलफल बाँकि रहन्छ । अघि नै मैले भने–विनियोजनको सन्दर्भमा पछि हामी फेरि कुन कुन मन्त्रालय कस्तो विनियोजन भयो ? र त्यसमा कुन कुन कार्यक्रममा के भएको छ ? कुन नयाँ थपिएको छ, कुन पुरानो जारी छ ? कुन कटौति गरिएको छ ? कुन पूरा भयो, कुन अपुरैमा कटौति भयो ? नाम मात्रैको आयोजना राखियो तर बजेट छुट्याइएन कि ?’ओलीले बजेटमा समर्थन गरेर अघि बढ्न पनि पार्टीका सांंसदहरुलाई निर्देशन दिए।







