काठमाडौँ । म्यानमारस्थित नेपाली राजदूतावासले ‘नेपाल–म्यानमार ट्रेड रिलेसनः प्रोमोटिङ सफ्टवेयर बिजनेस’ कार्यक्रम सम्पन्न भएको छ । याङ्गुनमा आयोजना गरिएको उक्त कार्यक्रमको उद्देश्य नेपालको सूचना प्रविधि क्षेत्र, सफ्टवेयरको विकास र डिजिटल सेवा म्यान्मारमा निर्यात गर्नका लागि सम्भावित क्षेत्र पहिचान गरी नेपाल र म्यान्मारका आइटी सेक्टरका सरोकारवालाहरूबीच सम्बन्ध स्थापना गर्नु रहेको दूतावासले जनाएको छ । एक दिने उक्त कार्यक्रमको पहिलो भाग (बिहान १० बजेदेखि १२ बजेसम्म) मा म्यान्मारका लागि नेपाली राजदूत, याङ्गुन क्षेत्रका मुख्यमन्त्री, म्यानमार फेडेरेसन अफ कमर्स एण्ड इन्डस्ट्रीसंघका अध्यक्षको मन्तव्य समावेश गरिएको थियो । म्यानमारका केन्द्रीय बैंकका उप–गभर्नर, म्यानमार डिजिटल इकोनोमी एसोसिएसन (एमडीईए) द्वारा म्यानमारको डिजिटल सेवाहरू र सूचना प्रविधिबारे प्रस्तुतीकरण रहेको थियो । कार्यक्रममा फिनटेक अलायन्स नेपालका प्रतिनिधिद्धारा नेपालको सूचना प्रविधि क्षेत्रमा हालमा भएको विकासबारे प्रकाश पार्दै, नेपाली आईटी कम्पनीहरूले उपलब्ध गराउँदै आएका विभिन्न सेवाहरूको संक्षिप्त विवरण तथा कार्यक्रममा सहभागी नेपाली आईटी कम्पनीहरूको संक्षिप्त परिचय तथा उक्त कम्पनीहरुले प्रदान गर्ने सेवाहरुको विवरण प्रस्तुत गरिएको थियो । कार्यक्रमको दोस्रो भाग (दिउँसो (१२ः३०–४ः३० बजेसम्म) मा सहभागि आईटी कम्पनीहरूले आफ्नो स्टल÷बुथहरुमा आफ्नो उत्पादन र सेवाहरूको प्रदर्शन तथा बुथ भ्रमण गर्ने व्यक्तिहरुसँगको अन्तरक्रिया समावेश थियो ।म्यानमारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले आफ्नो मन्तव्यमा पछिल्लो समय नेपालको सूचना प्रविधि क्षेत्रमा भएको प्रगतिबारे जानकारी गराए । नेपालको आईटी उत्पादन र सेवाको परिपक्वताको प्रशंसा गर्दै उनले नेपालको बैंकिङ र फिनटेक क्षेत्रहरू आन्तरिक रूपमा विकसित तथा पूर्ण रुपमा भरपर्दो रहेको उल्लेख गरे । राजदूत घिमिरेले नेपाल सरकारले सूचना प्रविधि र सफ्टवेयर उत्पादनलाई उच्च महत्व दिएको भन्दै हालको निर्यात यूएसडी ५०० मिलियनबाट यूएसडी २५ बिलियन पुर्याउनुका साथै १५ लाख रोजगारी सृजना गर्ने महत्वाकांक्षी लक्ष्य घोषणा गरेको बताए । साथै, नेपाल–म्यानमार व्यापारलाई पारस्परिक लाभका लागि पूरक बनाउन एकअर्काको आईटी र फिनटेक उत्पादन तथा सेवाहरू, उद्यमीहरूको सञ्जाल बढाउन र अत्यावश्यक सेवाहरू प्रदान गरी यस क्षेत्रलाई अझ मजबुत बनाउन जरुरी रहेको बताए । त्यस्तै, याङ्गुन क्षेत्रका मुख्यमन्त्री उ सो थेनले यस आधुनिक डिजिटल संसारमा यस कार्यक्रमको सान्दर्भिकता माथि जोड दिँदै दूतावास टोलीलाई पहलका लागि बधाई दिए । म्यानमार सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत नेपाली प्रवासी भेषराज खतिवडाले आफ्नो अनुभव साट्दै नेपाली कम्पनीहरूलाई म्यानमारमा आईटी र डिजिटल सेवाको क्षेत्रमा विद्यमान खाडल पहिचान गरी लाभ लिन आग्रह गरे । कार्यक्रममा फिनटेक अलायन्स नेपालका प्रतिनिधिहरूद्धारा नेपालबाट हाल निर्यात भैहरको आईटी उद्योगको विकासबारे प्रकाश पार्दै, नेपाली आईटी कम्पनीहरूले प्रदान गर्ने विभिन्न सेवाहरूको संक्षिप्त जानकारी दिइएको तथा कार्यक्रममा सहभागी भएका नेपाली आईटी कम्पनीहरूबारे जानकारी प्रस्तुत गरिएको थियो। । साथै म्यानमारमा डिजिटल बृद्धिलाई सहज बनाउन उपयुक्त प्रविधिको विकास गर्न नेपाली आईटी कम्पनीहरुले सहकार्य गर्ने इच्छा बताएका थिए ।







