काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशको विकास अब वामे सरे जस्तो होइन, रकेटजस्तो तीव्र गतिमा अगाडि बढ्नुपर्ने बताएका छन्। जनकपुरधाममा ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको शिलान्यास समारोहमा बोल्दै उनले मधेसको समृद्धिका लागि सबै तहका सरकार र जनप्रतिनिधिहरू एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्रीले मधेसलाई नेपालको उर्वर भूमि भन्दै यसको अपार सम्भावना व्यवहारमा रूपान्तरण गर्न सकिने बताए। उनले कोशी नदीको पानीको सदुपयोगबाट सम्पूर्ण मधेस सिँचाइ हुने र कृषिमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने स्पष्ट पारे।
सुनकोशी–मरिन डाइभर्सन परियोजनालाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढाएको जानकारी दिंदै उनले ठेकेदार कम्पनीहरूको ढिलासुस्तीप्रति कडा असन्तोष व्यक्त गरे। प्रधानमन्त्रीको भनाइ थियो, “यदि यस्तै रह्यो भने सरकार ठेक्का तोड्ने दिशामा जान बाध्य हुनेछ।”
उनले ढिलासुस्तीलाई भ्रष्टाचारजत्तिकै गम्भीर समस्या ठहर गर्दै विकास कार्यमा देखिएको सुस्तता अब सह्य नहुने चेतावनी दिए। प्रधानमन्त्री ओलीले मिथिला क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्त्व स्मरण गराउँदै यहाँ विकास नहुनु दुःखद रहेको उल्लेख गरे। “जहाँ अक्षर नभएको बेलामा पनि चिन्तन हुन्थ्यो, त्यो भू–भाग आज विकासमा पछाडि परेको छ,” उनले भने, “अब पछाडि पर्ने समय सकिएको छ।”
कार्यक्रममा सहभागी स्थानीय तथा प्रदेशस्तरीय जनप्रतिनिधिहरूमाझ प्रधानमन्त्रीले सुशासन र विकासलाई सँगै अघि बढाउनु आजको आवश्यकता रहेको उल्लेख गर्दै सबैलाई एकसाथ काम गर्न आह्वान गरे।