काठमाडौं । च्याम्पियन्स लिगको फाइनल भन्नासाथ धेरै फुटबलप्रेमीदाई अत्यधिक तनाव, रोमाञ्चक प्रतिस्पर्धा र साँधुरो अन्तरको जित–हारका क्षणहरू सम्झना आउँछ । तर प्रतियोगिताको इतिहासमा केही फाइनल भने एकतर्फी ‘थ्र्याशिङ’को रुपमा पनि दर्ज भएका छन् ।
सन् १९६० मा स्कटल्यान्डको ग्लास्गोस्थित ऐतिहासिक ह्याम्पडेन पार्क रंगशालामा भएको फाइनल सबैभन्दा सम्झन लायक छ । जहाँ स्पेनिस महारथी रियल म्याड्रिडले जर्मनीको इन्ट्राख्ट फ्रान्कफर्टलाई ७–३ को फराकिलो अन्तरले हराउँदै युरोपियन कप (हालको च्याम्पियन्स लिग)को इतिहासमै सबैभन्दा ठूलो जित हात पारेको थियो । त्यो समय रियल म्याड्रिडका लागि सुनौलो युग थियो । क्लबले प्रतियोगिताको पहिलो चार संस्करण जितिसकेको थियो र स्कटल्यान्डमा भएको त्यो रात उनीहरूको गौरवशाली इतिहासको विशेष क्षण बन्यो ।
च्याम्पियन्स लिग फाइनलमा त्यसपछि पनि केही उल्लेखनीय फराकिला जितहरू देखिएको छ । उदाहरणका लागि सन् १९९४ मा इटालियन क्लब एसी मिलानले स्पेनिस महारथी बार्सिलोनालाई ४–० ले हराएको खेललगायतलाई लिन सकिन्छ । यस्तै सन् १९७४ मा जर्मन महारथी बायर्न म्युनिखले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई ४–१ ले पराजित गरेको थियो । यसैगरी २००४ मा पोर्चुगिज क्लब पोर्टोले फ्रेन्च टोली मोनाकोलाई ३–० ले हराएको थियो ।
तर यी सबै नतिजालाई पछि पार्दै, सन् २०२५ को च्याम्पियन्स लिग फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले इटालियन क्लब इन्टर मिलानलाई ५–० ले पराजित गर्दै नयाँ कीर्तिमान कायम गरेको छ । म्युनिखको अलियान्ज एरिनामा आइतबार बिहान सम्पन्न उक्त खेलमा स्पेनिस प्रशिक्षक लुइस एनरिकेको प्रशिक्षकत्वमा पीएसजीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिता इतिहासकै सबैभन्दा फराकिलो अन्तरको जित दर्ता गरेको हो ।