काठमाडौ : गौरव गौतमद्वारा लिखित र निर्देशित छोटो चलचित्र “चराको नाच” नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करणमा उत्कृष्ट राष्ट्रिय छोटो चलचित्रको विधामा सेमीफाइनलमा प्रवेश गर्न सफल भएको छ। यस छोटो चलचित्रमा बिनिता चाम्लिङ राई र उदित गेलालको सशक्त अभिनय, गौरव अएरको रंग संयोजन, सपना बेलबासेको छायांकन रहेको छ भने सम्पादन स्वयं गौरव गौतमले गरेका छन्।
“चराको नाच” दिक्षिता नामकी एक प्रतिभाशाली युवा नृत्यांगनाको कथा हो, जो एक प्रतिष्ठित प्रतियोगिताका लागि जटिल ‘हुक स्टेप’ मा निपुण हुन अथक प्रयास गरिरहेकी छिन्। यो प्रयास उनलाई आत्म-खोजको यात्रा, अप्रत्याशित सम्बन्धहरू, र जीवनप्रति गहिरो दृष्टिकोणतर्फ डोर्याउँछ। यसअघि, गौरव गौतम निर्देशित अर्को छोटो चलचित्र “युवराज” ले नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पाँचौं संस्करणमा उत्कृष्ट राष्ट्रिय जुरी मेनसन अवार्ड जितेर उल्लेखनीय सफलता हासिल गरेको थियो।
“युवराज” बाल मनोविज्ञानमा आधारित एक संवेदनशील कथा हो, जसले विद्यालयको वातावरण र बालकको मानसिक अवस्थाबीचको जटिल सम्बन्धलाई अन्वेषण गर्छ। कथा एक बालकको वरिपरि घुम्छ, जसले शिक्षकको दुर्व्यवहार र डरको सामना गरिरहेको हुन्छ। यो अनुभवले उसको विद्यालयप्रति धारणा बदल्छ र उसको मनोवैज्ञानिक संसारलाई गहिरोसँग प्रभावित गर्छ। बालकको भित्री द्वन्द्व, डर, र आत्म-संकेतको यात्रा मार्फत, “युवराज” ले बाल मस्तिष्कको नाजुकता र सहयोगपूर्ण वातावरणको महत्त्वलाई मार्मिक रूपमा प्रस्तुत गर्छ। नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हरेक वर्ष नेपाल कल्चर एण्ड फिल्म सेन्टरको आयोजनामा सञ्चालन हुँदै आएको छ।
छैटौं संस्करणको यो महोत्सवमा ४७ वटा देशका विभिन्न विधाका ९८ वटा चलचित्रले सेमीफाइनलमा स्थान बनाएका छन्। तीमध्ये ३० वटा उत्कृष्ट चलचित्रलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ। यस वर्षको महोत्सव ३० जनवरीदेखि १ फेब्रुअरीसम्म राइजिङ मलको क्यूज सिनेमाज र चलचित्र विकास बोर्ड गरी दुई स्थानमा सञ्चालन हुनेछ। यो महोत्सवले नेपाली सिनेमा क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।