काठमाडौं । सामाजिक सञ्जालको प्रयोगसँगै व्यक्तिको अभिव्यक्तिको स्वतन्त्रता व्यापक भएको छ । तर, यही स्वतन्त्रताको दुर्व्याख्या गर्दै महिला,विशेष गरेर महिला कलाकारहरूप्रति हुने अभद्र टिप्पणी, अश्लील सन्देश र चरित्र हत्या गर्ने प्रवृत्तिहरू बढिरहेका छन् । सेलिब्रिटी भएकै कारण यस्ता आक्रमणको निशानामा पर्ने घटना सामान्यजस्तै भएको छ । तर, अब समय फेरिँदै छ, दुई लोकप्रिय गायिकाहरूले यस्तो प्रवृत्तिविरुद्ध कडा प्रतिकार गर्दै डिजिटल दुनियाँमै उदाहरणीय कदम चालेका छन् ।
लोकप्रिय गायिका समीक्षा अधिकारी र एलिना चौहान अहिले सामाजिक सञ्जालमा अपमानजनक व्यवहारको शिकार बनेपछि मौन नबस्ने निर्णय गरे, बरु खुलस्त उजागर गर्ने र कानुनी एवं सामाजिक चेतनाको माध्यमबाट त्यसविरुद्ध बोल्ने आँट गरे । उनीहरूले सामाजिक सञ्जालमै कसरी अपमान भयो, कोले अपमान गर्यो, र त्यसको विरुद्ध आफूहरूले कसरी प्रतिकार गरे भन्ने उदाहरणसहित प्रस्तुत भएर अन्य महिलालाई पनि सशक्त हुन प्रेरित गरिरहेका छन् ।
संगीत क्षेत्रमा आफ्नो फरक पहिचान बनाएकी समीक्षा अधिकारी सामाजिक सञ्जालमा निरन्तर सक्रिय रहने कलाकार हुन् । विभिन्न स्टेज कार्यक्रम, गीत र भिडियोहरूका कारण उनको व्यापक फ्यानफोलोइङ छ । यद्यपि, यही लोकप्रियता कहिलेकाहीँ अभिशाप बन्न पुग्छ, जब अनाम व्यक्तिहरू कलाकारलाई ‘सजिलो निशाना’ ठान्छन् ।
समीक्षाले केही दिनअघि एक व्यक्तिले आफूमाथि गरेको अश्लील टिप्पणी, अपमानजनक सन्देश र चरित्र हत्याको प्रयासको विरोधमा सो व्यक्तिको फेसबुक प्रोफाइलसहितको स्क्रिनसट सार्वजनिक गरिन् । सँगसँगै उनले लेखिन् “यो जस्तो व्यक्तिका कारण नै आज धेरै महिला सशंकित छन्, डराइरहेका छन् । म डराउँदिन, एक्सपोज गर्छु । यो पोस्टले सामाजिक सञ्जालमा हलचल ल्यायो । ती युवकले तुरुन्त प्रतिक्रिया दिँदै सामाजिक सञ्जालमै सार्वजनिक रूपमा माफी मागे र आफ्नो गल्ती स्वीकार गरे । समीक्षाले त्यस माफीको पोस्ट समेत आफ्ना फलोअर्सलाई देखाइन् , “गल्ती स्विकार्नु सकारात्मक कुरा हो, तर फेरि दोहोरिएमा म कानुनी बाटोमा जान्छु उनले भनिन।
‘कट्टान हान्दिन्छु’ लगायतका लोकप्रिय गीतकी गायिका एलिना चौहान पनि यस्तै अपमानजनक अवस्थाबाट गुज्रिएकी छन् । एलिनाले आफूलाई चरित्रहत्या गर्ने उद्देश्यले तस्वीर दुरुपयोग गर्ने ती व्यक्तिलाई भिडियोमार्फत खुला चेतावनी दिइन् । भिडियोमा एलिनाले ती व्यक्तिको गतिविधिबारे प्रस्ट जानकारी दिँदै भनेकी छन “तपाईंलाई लाग्यो होला, म केहि बोल्दिन होला । तर म बोल्छु र तपाईंलाई सबैले हेर्ने गरी चिनाउँछु । समीक्षा र एलिनाको प्रतिकारले एउटा गम्भीर विषयलाई पुनः सतहमा ल्याएको छ। सामाजिक सञ्जालमा महिला कलाकारको असुरक्षा ।
अभिनेत्री, मोडल, गायिका तथा सञ्चारकर्मी महिला प्रायः सामाजिक सञ्जालमार्फत यौन उत्पीडन, अश्लील कमेन्ट, ट्रोल र फोटो म्यानिपुलेसनको शिकार भइरहेका छन् । धेरैजसो पीडित मौन रहने वा ‘हेट कमेन्ट’लाई सामान्य ठानेर बेवास्ता गर्ने गर्दछन् । तर, समीक्षाको सार्वजनिक अपमानकर्ता माफी माग्न बाध्य हुनु र एलिनाको खुला चेतावनीपछि ती व्यक्तिको हराउनु एक सकारात्मक सामाजिक संकेत ह। अब महिला कलाकार मौन बस्ने छैनन् ।
यी दुई गायिकाको साहसिक कदमले अन्य कलाकारहरूको ध्यानसमेत खिचेको छ । अभिनेत्री प्रियंका कार्की, गायिका मिलन नेवार, मोडल नम्रता सापकोटा, सञ्चारकर्मी रचना रिमाल, सङ्गीतकर्मी रेवत राई जस्ता चर्चित नामहरूले समीक्षा र एलिनाको पोस्ट सेयर गर्दै समर्थन जनाएका छन् । निता ढुंगानाले लेखिन “हामी सधैं भिडमा छन्, हामी सार्वजनिक सम्पत्ति होइनौं । हाम्रो पनि आत्मसम्मान हुन्छ । समीक्षा र एलिना, तिमीहरूको हिम्मतले समाज बदल्नेछ ।”
नेपालमा विद्यमान साइबर अपराध ऐन २०६३ अन्तर्गत यस्ता कार्यहरूलाई सजायको भागीदार बनाइएको छ । कसैको चरित्र हत्या गर्ने, तस्बिर बिगारेर सार्वजनिक गर्ने वा यौनिक हिंसामा प्रोत्साहन गर्ने कार्यलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय तोकिएको छ । समीक्षा र एलिनाको प्रतिकारसँगै साइबर ब्युरोले पनि यसबारे गम्भीर चासो देखाएको छ । ब्युरो स्रोतका अनुसार, सामाजिक सञ्जालबाट उजुरी परेमा अब तुरुन्तै अनुसन्धान सुरु गरिने र दोषी पहिचान गरी कानुनी कारबाही अगाडि बढाइनेछ ।
समीक्षा अधिकारी र एलिना चौहानका पछिल्ला गतिविधिहरूले स्पष्ट सन्देश दिएका छन। अब महिलाहरू मौन रहने छैनन् । अपमानको सामना गर्दा सहनु नै ‘अदभुतता’ होइन, अपमानको विरोध गर्नु नै ‘साहस’ हो । यी दुई गायिकाले सामाजिक सञ्जालमै अभियन्ता बन्ने हिम्मत देखाए । यो कदम अरु थुप्रै महिलाका लागि प्रेरणा बन्न सक्छ चाहे उनी कलाकार हुन् वा सर्वसाधारण । सामाजिक सञ्जालको प्रयोग जिम्मेवार ढंगले हुन आवश्यक छ । अभिव्यक्ति स्वतन्त्रताको नाममा अर्काको आत्मसम्मानमा चोट पुर्याउनु कहिल्यै स्वतन्त्रता होइन, त्यो हिंसा हो । समीक्षा र एलिनाको जस्तो प्रतिकार अब ‘नम्रता’ होइन, ‘न्यायको लागि प्रतिरोध’ बन्नुपर्छ ।







