काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने आर्थिक अनियमिततासम्बन्धी आरोपका कारण भैरहवा कारागारमा रहेका छन्। उच्च अदालत तुलसीपुरको निर्णयलाई पुष्टि गर्दै सर्वोच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। अदालती निष्कर्षअनुसार, हालको अवस्थामा रवि लामिछाने निर्दोष ठहरिन सक्ने कुनै स्पष्ट प्रमाण फेला परेको छैन।
उनीमाथि लागेको मुख्य आरोप सहकारीमार्फत ठगीसँग सम्बन्धित छ। यस्ता संस्थाबाट ठगिएका हजारौँ सर्वसाधारण पीडित छन्, जसमा केही कलाकारहरू समेत समावेश छन्। तर, यतिबेला त्यही क्षेत्रका केही कलाकारहरू भने रविको समर्थनमा उभिएका छन्। यो प्रवृत्तिलाई हेर्दा नैतिक मूल्यको बिघटन स्पष्ट देखिन्छ।
रास्वपाले रविलाई राजनीतिक योजनामार्फत फसाइएको भन्दै “राजनीतिक षड्यन्त्रविरुद्ध जनताको समर्थन” शीर्षकमा हस्ताक्षर सङ्कलन अभियान थालनी गरेको छ। यो अभियान केन्द्रीय तथा स्थानीय पार्टी कार्यालयहरूदेखि सडकका चोक, हाटबजार, र सार्वजनिक स्थानहरूमा सक्रिय रूपमा सञ्चालनमा ल्याइएको छ। यस्तो कार्यले रवि लामिछानेप्रति सहानुभूति सिर्जना गर्ने उद्देश्य लिएको देखिन्छ।
सार्वजनिक रूपमा हस्ताक्षर सङ्कलन पहिले पनि भएका छन्, तर ती सधैं पीडित पक्षको समर्थनमा हुने गर्थे। अदालतले आरोपित ठहर गरिसकेको व्यक्तिको पक्षमा यति ठूलो समर्थन अभियान चलाइनु भने सम्भवत: पहिलोपटक हो। जबसम्म मुद्दाको टुंगो लाग्दैन, अदालतका दृष्टिमा रवि आरोपित नै रहन्छन्।
अझ महत्वपूर्ण कुरा के छ भने, पार्टी नेतृत्वको व्यक्तिगत र आर्थिक काण्डमा मुछिएको अवस्थालाई आवरण दिन यसरी सङ्गठित रूपमा समर्थन जुटाउनु राजनीतिक संस्कृतिका लागि गम्भीर विषय हो। यस्ता अभियानहरूले न्यायिक प्रक्रियामा हस्तक्षेप गर्ने प्रयासझैं देखिन्छ।
यसैबीच, रविपत्नी निकिता पौडेलले काठमाडौंस्थित इमागो क्याफेमा विशिष्ट व्यक्तित्वहरूका लागि छुट्टै हस्ताक्षर केन्द्र स्थापना गरेकी छन्। यहाँ कलाकार, सञ्चारकर्मी र सेलिब्रेटीहरूलाई सहभागी हुन आग्रह गरिएको छ। फिल्म क्षेत्रमै प्रभावशाली व्यक्तित्व भएकी निकिता पूर्व चलचित्र विकास बोर्ड अध्यक्ष पनि हुन्। पारिवारिक तथा व्यवसायिक सम्बन्धको कारणले केही कलाकारले सो कार्यक्रममा उपस्थिति जनाएका छन् भने धेरै कलाकार भने राजनीतिक विवादमा नताँसिन अभिष्ट राखेर टाढै रहेका छन्।
उनीहरूलाई व्यक्तिगत आग्रह गरिएको भए पनि, यो समय कलाकारहरूले विवेकपूर्ण निर्णय गर्नु जरुरी हुन्छ। एउटा निस्पक्ष न्यायिक प्रक्रियालाई प्रभावित गर्ने आशंकामा रहेको अभियानमा भाग लिँदा त्यसको गहिरो सामाजिक प्रभाव पर्छ।
अन्ततः, रविको समर्थनमा भइरहेको हस्ताक्षर अभियान न्याय र नैतिकताको दृष्टिकोणले आलोच्य रहन्छ। पीडितको पीडा छायामा पारेर, आरोपितको समर्थनमा आवाज उठाइनु समाजको मूल्यमान्यतालाई चुनौती दिनु हो। विशेषतः सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूबाट यस किसिमको व्यवहार अपेक्षित छैन।
रवि लामिछानेमाथि विचाराधीन मुद्दाको निष्कर्ष ननिस्किंदासम्म उनी निर्दोष भन्न सकिन्न। यस्ता अवस्थामा हस्ताक्षरद्वारा जनमतको ढोका खोल्ने प्रयासले अदालतको भूमिकामाथि शंका उठाउन सक्ने खतरा रहन्छ। न्याय प्रक्रिया स्वाभाविक रूपमा अघि बढ्न दिँदै, सामाजिक नेतृत्वकर्ताहरूले संयमित र जिम्मेवार व्यवहार देखाउन आवश्यक छ।







