काठमाडौं । “बा, हजुर कस्तो ठाउँमा गयौ है?” यो प्रश्न मेरो मनमा दिनहुँ गुञ्जिरहन्छ। न फर्केर आउने बाटो छ, न म हजुर पुगेको ठाउँ पुग्न सक्छु। हजुर जानु भयो , तर हजुरले छोडेको सम्झना, हजुरले दिएको माया, हजुरले सिकाएका कुराहरू भने आज पनि मेरो हरेक साससँगै बाँचेका छन्। म सानै थिएँ, संसार के हो भन्ने बुझ्न नपाउँदै हजुरले संसार छोड्यौ। त्यो दिन, त्यो क्षण, अझै ताजै छ एक भयानक सपना जस्तै। बारीमा रमाउँदै गर्दा एक जना आफन्त आएर भने, “नानी, घर जाने होइन? बाबाले त संसार छोडेर जानुभयो।” त्यो वाक्य सुन्नासाथ मेरो मुटु रोएर भत्कियो। जति सक्यो दौडिएँ घरको आगनमा पुग्दासम्म तिमीले अन्तिम सास फेरेर चूप लागिसकेका थियौ।
त्यो क्षणबाट हाम्रो घर उज्यालोबाट अन्धकारमा ढल्यो। त्यो बिहान जुन उज्यालो देखेर उठेकी थिएँ, दिउँसोसम्म त्यो उज्यालो हरायो। सारा गाउँको मानिसहरूले हाम्रो घर घेरिसकेका थिए, तर मेरो मन भने एक्लो थियो। मलाई विश्वास नै लागिरहेको थिएन, कि जुन हातले मलाई सुम्सुम्याउनु हुन्थ्यो, त्यो हात अब कहिल्यै चल्दैन। आमाको हालत त झन् झनक्क थियो। बिहान रातो सारीमा सजिएकी आमा दिउँसो घाटबाट सेतो सारीमा फर्किनु भएको दृश्य कहिल्यै बिर्सिन सक्दिन। हजुर जानुहुँदा आमाको सिन्दुर पनि साथमा लगेझैँ भयो त्यही दिनदेखि हाम्रो घरको खुसी लुटियो। हिजो सम्म “लाउ लाउ, खाउ खाउ” भन्दै कराउँदै हिँड्ने मेरी आमा, आज एक शब्द बोल्न पनि डराउँछिन्। उनका आँखाहरूमा पीडाको महासागर छ हजुर नहुँदाको पीडा, समाजको तिरस्कार, अनि जिम्मेवारीको भारी।
आमालाई सम्झाउन खोज्छु “बा हजुर जहाँ हुनुहुन्छ, हामीलाई हेरेको हुनुहुन्छ,” भन्छु। तर आमा केही बोल्नुहुन्न, केवल शून्यतामा हेरेर आँखाबाट आँसु झार्नुहुन्छ। सायद उहाँलाई लाग्दो हो, अब जिन्दगी त्यही घाटमै थमिएको हो। उहाँ बोल्दिन, तर म बुझ्छु बुबा हजुर नहुँदा उहाँ कति टुट्नुभएको छ। समाजको व्यवहार पनि त यस्तै हुन्छ नि। एकल महिलाप्रति घृणाभाव, शंका, र दया यी त आफ्नै मान्छेबाट झेल्नुपर्छ। हजुर नहुँदा आमाले भोग्नु परेको मानसिक यातना हेर्दा कहिलेकाहीँ भगवानप्रतिको विश्वास पनि डगमगाउँछ। के भगवान यति निर्दयी हुन्छन्? किन यति सानो उमेरमा मलाई बिनाबुबाको जिन्दगी दिनुपर्ने थियो? तर बा, हजुरले मलाई जुन संस्कार दिनुभएको थियो, ती मेरा सम्पत्तिहरू हुन्। हजुरले भन्नु हुन्थ्यो “मिहिनेत गर, इमान्दार बन, जीवनमा ठूलो कुरा कमाउनु भनेको आत्मसम्मान हो।” हजुरले भनेका ती सबै कुरा मैले अहिले मनमा टाँसेको छु। हजुरले सिकाएको एउटै कुरा आजसम्म बिर्सेकी छैन आमा भगवान हो।
म हजुरलाई पाउने सौभाग्यबाट बञ्चित भएँ, तर हजुरबाट पाएको माया र सम्झनाले मलाई बलियो बनाएको छ। मैले थुप्रै रात आकाश हेरेर तिमीलाई सम्झिएँ हजुरलाई बोलाएँ, हजुरलाई खोजेँ। कहिले सपनामा आउँछौ, कहिले गीतमा, कहिले पत्रजस्तै सम्झनामा। त्यो दिन सम्झनुस्, जब तिमी घर फर्किनुभएको थिएन, मैले हजुरलाई अन्तिम पटक देखेँ, चूपचाप सुतेको। हजुरले केही भन्नुभएन। तर हजुरले मलाई जीवनभरका लागि सयौं कुरा सिकाएर जानुभयो। आज म ठूलो भएँ, परिस्थितिले पनि धेरै कुरामा परिपक्व बनायो। आमा अझै पनि हजुरलाई सम्झेर रुन्छिन्। उहाँको अवस्था डिप्रेसनको भुमरीमा पसेको छ। म डाक्टर कहाँ लैजान्छु, औषधी ल्याउँछु, तर त्यो औषधीले बुबाको अभाव हटाउँदैन।
बा, मलाई फेरि त्यो पुरानै खुसी चाहिएको छ जहाँ हजुर हुनुहुन्थ्यो , आमा हाँसिरहनुहुन्थ्यो, म डर बिना निदाउँथे। म जान्दिन त्यो सम्भव छ कि छैन, तर आशामा छु हजुर जुन दुनियाँमा छौ, त्यहाँबाट हामीलाई हेरिरहनुभएको छ। म भोलि के बन्छु, म कति सफल हुन्छु त्यो सबैभन्दा पहिले हजुरलाई देखाउन चाहन्छु। हजुरले गर्व गर्न सक्ने जीवन बनाउने वाचा गर्छु। केवल यति भन्न मन लाग्छ हजुर नभए पनि हजुरले छोडेको माया, हजुरले बोलेका शब्द र हजुरको अनुहार मेरो आत्मामा गहिरिएर बसेको छ। हजुर कहिल्यै मर्नुभएनौं बा, हजुर त हाम्रै भित्र बाँचिरहनु भएको छ सधैँका लागि।







