काठमाडाैं । युवा अभियन्ता निरोज देवकोटा गोर्खालीले गैरआवासीय नेपाली संघ (एनआरएनए) एनटी स्टेट कोअर्डिनेशन काउन्सिल, अष्ट्रेलियाको उपसंयोजक पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
२०२५–२०२७ कार्यकालका लागि हुन लागेको निर्वाचनमा ‘टिम त्रिलोचन’ बाट मैदानमा उत्रिएका देवकोटाले समर्पण, सेवाभाव र युवाशक्तिको सशक्तिकरणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
एनआरएनए एनटीमा २०२१–२०२३ मा युवा सदस्य र २०२३–२०२५ मा युवा संयोजकको जिम्मेवारी निर्वाह गरिसकेका देवकोटाले आफूलाई समुदायको बदलिंदो आवश्यकता बुझ्ने र समाधान दिन सक्ने अनुभवयुक्त उम्मेदवारको रूपमा प्रस्तुत गरेका छन्।
‘टिम त्रिलोचन’ कुनै पनि राजनीतिक प्रभावबाट मुक्त रहेको बताउँदै उनले सेवा, पारदर्शिता, एकता र समावेशितालाई मूल मन्त्र बनाउने प्रतिबद्धता जनाएका छन्।
आगामी जुलाई २६ मा हुने निर्वाचनमा उत्तरी क्षेत्रका सम्पूर्ण नेपाली समुदायसँग मत माग्दै उनले एनटीको नेपाली समुदायलाई समृद्ध र एकीकृत बनाउन सबैको साथ र समर्थनको अपिल गरेका छन्। एनआरएनए अष्ट्रेलियाको निर्वाचनका लागि अहिले अभियन्ताहरुले धमाधम आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् ।







