काठमाडौँ । आज घोडाघोडी नगरपालिकाको सभाहलमा जनज्योति माध्यमिक विद्यालयले पाएको सम्मानले विगत दुई दशकको धुलाम्मे यात्रालाई एकपटक फेरि झल्झली सम्झाइदियो। नगरपालिका प्रमुख र उपप्रमुखज्यूबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकज्यूले सम्मानको प्रमाणपत्र ग्रहण गर्दा, यो केवल एउटा सम्मान थिएन, बरु सपना, संघर्ष र सफलताको एउटा लामो कथाको उत्सव थियो।
‘असम्भव’ भनिएको सपनाको बीजारोपण
आजभन्दा दुई दशकअघि, देश संकटकाल र विश्व आर्थिक मन्दीको चपेटामा जेलिएको बेला, हामीले शिक्षाको एउटा सानो बीउ रोप्ने संकल्प गर्यौं। तर, त्यो बीउ रोप्न मलिलो माटो थिएन, बरु ढुङ्गे बगरजस्तो कठोर यथार्थ हाम्रो सामुन्ने खडा थियो। विद्यालय स्थापनाका लागि आवश्यक पुँजी जुटाउन हामीले समाजका प्रतिष्ठित व्यक्तिहरू र ठूला ढोकाहरू ढकढकायौं। तर, त्यहाँबाट “यो विद्यालय चल्दैन,” “असम्भव सपना हो,” “किन व्यर्थै दुःख गर्छौ?” जस्ता निराशाजनक शब्दहरूले हाम्रो उत्साहमाथि चिसो पानी खन्याइदियो। समाजका बुज्रुक वर्गको नजरमा हामी केवल एउटा असफल प्रयासका पात्र थियौं।
जनताको आँगनबाट उठेको विश्वासको जग
ठूला ढोकाहरूबाट निराश भएपछि हामीले आफ्नो बाटो बदल्यौं। हामी धूलोमाटोले पोतिएका तर मायाले भरिएका सामान्य अभिभावकहरूका झुपडीका ढोका ढकढकाउन पुग्यौं। त्यहाँ हामीले पैसा मात्र होइन, विश्वास पायौं; चन्दा मात्र होइन, आफ्ना सन्तानको भविष्य सुम्पिने आँट पायौं। जनताको आँगनमा हामीले विश्वास र भरोसा खोज्यौं। हाम्रो पुँजी निर्माणको अभियान देउसी-भैली, मुठीदान र चन्दा संकलनबाट सुरु भयो। तर, समाजको अपमानको शृंखला रोकिएन। आफ्नो भविष्य दाउमा राखेर बालबालिकाको उज्यालो भविष्य कोर्न हिँडेका हामीलाई ‘टोड्के स्कुलको शिक्षक’ भनेर होच्याइयो। त्यो शब्दले हाम्रो स्वाभिमानमाथि प्रहार गर्थ्यो, तर हाम्रो संकल्पको चट्टानलाई हल्लाउन सकेन। त्यही देउसी-भैलीमा गाइएका आशिष र जनताको आँगनबाट उठेको दक्षिणाले विद्यालयको स्टेसनरी जोडियो। त्यही विश्वास र सहयोगको जगमा हाम्रो मासिक तलब ५०० रुपैयाँ कायम भयो, जुन हाम्रो श्रमको मूल्यभन्दा बढी सपनाप्रतिको अटुट समर्पणको प्रतीक थियो।
चुनौतीको पहाड र ‘नमुना’ बन्ने संकल्प
समय बित्दै जाँदा चुनौतीका स्वरूपहरू बदलिए। अघिल्लो स्थानीय सरकारले विद्यालय गाभ्ने (मर्ज गर्ने) नीति अख्तियार गर्यो भने रेललाइन सर्भेले विद्यालयको अस्तित्व नै संकटमा पार्ने भ्रम वर्षभरि फैलियो। यी अनिश्चितताहरूले हाम्रो भर्ना अभियानमा गम्भीर असर पुर्यायो। सायद सबैभन्दा चोटिलो क्षण त त्यो थियो, जब नगरपालिकाले थुप्रै विद्यालयलाई ‘नमुना विद्यालय’ घोषणा गर्दै आर्थिक अनुदानको वर्षा गर्यो, तर हाम्रो विद्यालयलाई जानाजान उपेक्षा गरियो।
त्यस क्षणमा हामीले एउटा दृढ संकल्प गर्यौं: हामीलाई अरूको नजरमा ‘नमुना’ बन्नु छैन, आफ्नै जगमा एउटा ‘उदाहरण’ बनेर उभिनु छ। अरूले पहिराइदिएको ताजभन्दा आफ्नै पौरखले आर्जेको स्वाभिमान प्यारो र स्थायी हुन्छ भन्ने पाठ हामीले त्यही दिन सिक्यौं।
शून्यबाट शिखरसम्मको विजय यात्रा
आज त्यही संकल्पले सार्थकता पाएको छ। त्यही ‘टोड्के स्कुल’ भनेर हेपिएको हाम्रो कर्मथलो आज गुणस्तरीय शिक्षाको एउटा मजबुत किल्ला बनेको छ। त्यही देउसी-भैलीको जगमा उठेको विद्यालयले आज SEE-२०८१ मा ७५.९३% नतिजा ल्याएर पालिकाभरि प्रथम स्थान हासिल गरेको छ। यो नतिजा ती सबै अपमान, अविश्वास र उपेक्षाको बौद्धिक जवाफ हो।
यो सफलता संस्थापकहरूको त्याग, वर्तमान नेतृत्वको कुशलता, शिक्षकहरूको रगत-पसिना, अभिभावकको विश्वास र विद्यार्थीहरूको लगनशीलताको सामूहिक प्रतिफल हो। यो सम्मान हाम्रो निधारमा लागेको ‘टोड्के स्कुलको शिक्षक’ को दाग मेटाउने मलम मात्र होइन, बरु त्यो दागलाई गर्वको टीकामा बदल्ने हाम्रो संकल्पको विजय हो।
यो कथा हाम्रो आँसु, पसिना र स्वाभिमानको हो। यो यात्रा शून्यबाट शिखरसम्मको हो। र, यो शिखर हाम्रो अन्तिम गन्तव्य होइन, यहाँबाट अनन्त आकाश छुनका लागि भरिएको एउटा नयाँ उडानको सुरुवात हो। जनज्योति माध्यमिक विद्यालय हाम्रो गौरवको सगरमाथा हो।







