काठमाडौं। ‘नेपाली रेडियो नेटवर्क‘ ले ‘कृत्रिम बुद्धिमता (आर्टिफिसियल इन्टेलिजेन्स(एआई)‘ नीति जारी गरेको छ। ‘विश्व रेडियो दिवस‘को अवसरमा आज (बिहिबार) एक कार्यक्रमको आयोजनाबिच उक्त नीति जारी गरिएको हो ।
विश्वभर सूचना प्रविधिको विकाससँगै विभिन्न क्षेत्रमा एआईको प्रयोग तीव्र रुपमा बढ्दै गइरहेको छ । भने पछिल्लो समय नेपाली सञ्चार क्षेत्रमासमेत यसको प्रयोग व्यापक रुपमा बढ्दै गएको पाइन्छ ।
यसैलाई मध्यनजर गरी नेपालकै सबैभन्दा ठुलो रेडियो नेटवर्क ‘नेपाली रेडियो नेटवर्क‘ तथा रेडियो एनआरएन ९९.१ ले यसको सही सदुपयोग गरी विश्वसनिय समाचार सम्प्रेषण गर्ने उद्देश्यले आज नेपालमै पहिलोपटक एआइ नीति जारी गरेको हो।
उक्त कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालमै पहिलोपटक नेपाली रेडियो नेटवर्कले एआई नीति जारी गरि सिंगो देशलाई एआईप्रति थप जिम्मेवार र जवाफदेही बन्न प्रेरित गरेको बताउनुभयो ।उहाँले नीति सफल कार्यान्वायनको लागी आवश्यक सहजीकरण गर्ने र नेपालमा रहेका अन्य एआई प्रयोगकर्ताहरुलाई पनि यसतर्फ प्रेरित गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा ‘नेपाली रेडियो नेटवर्क‘का अध्यक्ष वरिष्ठ पत्रकार ऋषि धमलाले नीति पूर्ण रुपमा कार्यान्वायन गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले नेपाली रेडियो नेटवर्क विश्वमा विकसित सुचना प्रविधीहरुको उचित सदुपयोग गरि आम श्रोताहरुमा विश्वसनिय समाचार सम्प्रेषणमा पूर्ण प्रतिवद्ध रहेको बताउनुभयो ।
उहाँले पछिल्लो समय रेडियोको घट्दो प्रयोग पनि एआई जस्ता प्रविधीको प्रयोगले पुनः लोकप्रियता बढाउँदै लगेपछी रेडियोप्रतिको आकर्षण बढेको पनि उल्लेख गर्नुभयो।
नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक जीवन भण्डारीले विश्वभर बढ्दो सुचना प्रविधीको विकास र आयामलाई आत्मसात गरी भरपुर सदुपयोग गर्दै अगाडी बढ्नुुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो।
उहाँले रेडियो सामग्री संकलन, लेखन, निर्माण, सम्पादन र प्रकाशन वा प्रसारणमा एआइको उचित प्रयोग गर्ने उद्देश्यले नीति जारी गरिएको बताउनुभयो। उहाँले एआइ सम्बन्धी नीति हरेक छ/छ महिनामा समीक्षा गरि आवश्यकता अनुसार परिमार्जन गरि समयानुकुल र विश्वसनिय बनाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।
यस्तो छ नेपाली रेडियो नेटवर्कले जारी गरेको एआई नीतिः
नेपाली रेडियो नेटवर्क
कृत्रिम बुद्धिमत्ता (एआइ) नीति
जारी मिति : २०८१, फागुन १, विश्व रेडियो दिवस
सूचना प्रविधिको विकाससँगै विभिन्न क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स-एआई) को प्रयोग तीव्र रुपमा बढ्दै गइरहेको छ। यसको प्रयोग सञ्चार क्षेत्रमा पनि व्यापक रुपमा भइरहेको छ। सञ्चारमाध्यममा एआइको सही, जिम्मेवार र विश्वसनीय प्रयोगका लागि छुट्टै नीतिको आवश्यकता महसुस गरिएको छ।
यस्तो अभ्यास विश्वका केही सञ्चार माध्यमहरूमा सुरु भइसकेका छन् भने नेपालमा खासै प्रयोग नभएकै सन्दर्भमा आज हामीले रेडियो दिवसको अवसर पारेर नेपाली रेडियो नेटवर्कका लागि एआइ नीति घोषणा गरी लागू गरेका छौं। निम्न बमोजिमको “नेपाली रेडियो नेटवर्क एआइ नीति”मा हामी प्रतिब छौं।
एआइको प्रयोग गर्दा सही तरिकाले जिम्मेवार र विश्वसनीय हुनेगरी मात्रै गरिनेछ।
कुनै पनि रेडियो सामग्री संकलन, लेखन, निर्माण, सम्पादन र प्रकाशन वा प्रसारणमा एआइको उचित प्रयोग गरिनेछ।
कुनै पनि समाचार वा रिपोर्टमा एआइको प्रयोग भएमा त्यसको जानकारी गराइनेछ। एआईद्वारा सिर्जित सामग्रीमा एआइको कुनै संकेत उल्लेख गरिनेछ।
एआइको प्रयोगबाट कुनै गल्ती कमजोरी र हानि भएमा माफी माग्दै त्यसको जिम्मेवारी सञ्चारमाध्यम र पदाधिकारीहरूले नै लिइनेछ।
समाचार, कार्यक्रम तथा विज्ञापन उत्पादन तथा प्रसारणका सिलसिलामा एआइको प्रयोग गरेपनि अन्तिम निर्णय मानव पदाधिकारीबाट नै गरिनेछ।
एआइलाई कुनै पनि काम गर्ने सहयोगी माध्यमको रुपमा मात्रै प्रयोग गरिनेछ।
एआइ मार्फत सिर्जित सबै सामग्रीको पुन: परीक्षणपछि मात्रै प्रयोग गरिनेछ।
एआइको प्रयोगबाट मानवीय कार्य गुणस्तरमा कमी नआउनेतर्फ ध्यान दिइनेछ।
एआइको प्रयोगकै कारणले मानव शक्तिलाई विस्थापित नहुनेतर्फ भर मजदुर प्रयास गरिनेछ।
एआइको प्रयोगका लागि जनशक्तिलाई अभिमुखीकृत गर्दै सक्षम बनाइनेछ।
एआइद्वारा सिर्जित सामग्रीमा मानवीयपनको ध्यान दिइनेछ ।
एआइको अभ्यासका क्रममा प्रयोग हुने तथ्य तथ्याङ्क तथा सिर्जनाहरूको प्रतिलिपि अधिकार ख्याल गरिनेछ ।
एआईबाट सिर्जना गरिएका सामग्रीमा कसैको अनुमति लिनुपर्ने भएमा अनुमति लिइनेछ।
एआई मोडलले कुनै समूह, जाति, लिङ्ग वा समुदायलाई पक्षपात गरेमा सच्याइनेछ।
कुनै पनि भ्रम वा गलत सन्देश जाने आइद्वारा सिर्जित सामग्रीहरुलाई प्रयोग गरिने छैन।
एआइको सहयोगमा तयार पारिएका सामग्रीबारे गुनासो लिने र सुनवाई गर्ने व्यवस्था गरिनेछ।
नेपाली रेडियो नेटवर्कको एआइ सम्बन्धी नीतिको हरेक छ /छ महिनामा आन्तरिक रुपमै समीक्षा गरिनेछ।
आवश्यकता अनुसार यो एआइ प्रयोग सम्बन्धी नीतिको परिमार्जन गरिनेछ।







