चितवन–२ बाट निर्वाचित पूर्वसांसद एवं नेकपा एमाले स्थायी कमिटी सदस्य काशिनाथ अधिकारीले प्रचार गरेर सार्वजनिक बस चढेको भन्दै रास्वपा सभापति रवि लामिछाने लगायतप्रति कटाक्ष गरेका छन् । ‘पजेरो युग’को सांसद भए पनि आफू सधैं सार्वजनिक यातायातमा चढ्ने गरेको उनले उल्लेख गरेका छन् ।
लामिछाने बसमा चढेको फोटोसहित सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा सन्देश लेख्दै अधिकारीले कुनै दिन बसमै भेटौला भनी कटाक्ष गरेका हुन् । ‘पूर्वउप प्रम तथा गृहमन्त्री माननीय रवि लामिछाने बसमै यात्रा गर्नु हुँदोरहेछ । ३० बर्ष अगाडि चितवन–२ बाटै निर्वाचित पजेरो युगको सांसद हुँ म । ४३ वर्ष भयो पूर्णकालीन राजनीतिमा लागेको । अहिले पनि दैनिक सार्वजनिक बसमै हिँडिरहेको हुन्छु’ उनले लेखेका छन्, ‘अब माननीयजीसँग कुनै दिन बसमै भेटहोला !’
उनी २०५१ सालको चुनावमा चितवन २ बाट निर्वाचित सांसद हु्न् । अहिले चितवन २ बाट रवि सांसद छन् । पजेरो युग भनेर उनले २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदलाई पजेरो बाँडेको कुरातर्फ संकेत गरेका हुन् । जनतासँग नजिकिने र उनीहरूका कुरा सुन्ने भन्दै रास्वपा सभापति लामिछानेलगायत नेताहरू आइतवार सार्वजनिक बसमा चढेका थिए । निजी सवारी साधन पार्टी कार्यालयमा थन्काएर उनीहरूले ५ दिन बसमा यात्रा गर्ने बताएका छन् ।







