काठमाडौँ। मलेसियाको उत्तरी भागमा एक दर्दनाक बस दुर्घटनामा परेर विश्वविद्यालयका विद्यार्थीहरूसहित १५ जनाको ज्यान गएको छ। सोमबार बिहान १ः०० बजेपछि थाई सीमाको नजिक, पेराक राज्यको गेरिक सहरस्थित व्यस्त पूर्व–पश्चिम राजमार्गमा यो दुर्घटना भएको हो।
बसमा सवार सुल्तान इद्रीस शिक्षा विश्वविद्यालयका विद्यार्थीहरू आफ्नो क्याम्पस फर्किंदै थिए। त्यस क्रममा बसले पछाडिबाट एक मिनिभ्यानलाई ठक्कर दिँदा १३ जनाको घटनास्थलमै र थप २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।
पेराक राज्यका प्रहरी प्रमुख हिशाम नोर्दिनका अनुसार, प्रारम्भिक अनुसन्धानमा बसले नियन्त्रण गुमाएर मिनिभ्यानलाई ठक्कर दिएको देखिएको छ। घटनास्थलका तस्बिरहरूमा हरियो रंगको बस दाहिने छेउमा पल्टिएको र रातो मिनिभ्यान खाडलमा खसेको देखिन्छ।
पेराक राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार केही यात्रु दुर्घटनापछि बसबाट आफैँ निस्कन सफल भए भने केही यात्रुहरू बाहिर फ्याँकिएका थिए। बाँकीलाई उद्धारकर्ताहरूले हाइड्रोलिक कटरको प्रयोग गरी निकालेका थिए।
मृतकहरूमध्ये १४ जना विद्यार्थी र १ जना बस परिचारक रहेका छन्। दुर्घटनामा ३३ जना घाइते भएका छन्, जसमा ७ जनाको अवस्था गम्भीर छ। अधिकांश पीडित २१ देखि २३ वर्ष उमेर समूहका रहेका छन्। उनीहरू जेर्तेह सहरबाट आफ्नो विश्वविद्यालयतर्फ जाँदै थिए।
मलेसियाको अधिकारीहरूले यो दुर्घटनालाई एक दशकयताकै सबैभन्दा घातक सडक दुर्घटना मानेका छन्।







