काठमाडौँ। एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान आज बिहान भारतको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनामा परेको छ। एआई१७१ नम्बरको उक्त उडान लन्डनको गेटविक विमानस्थलतर्फ प्रस्थान गर्ने क्रममा टेकअफका बेलामा विमानस्थलको सीमा क्षेत्रमै दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
विमानमा २४२ यात्रु र चालक दलका सदस्य सवार थिए। दुर्घटनास्थल विमानस्थल परिसरसँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिक पर्न गएको हो। घटनापछि ठूलो मात्रामा धुवाँ देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
एयर इन्डियाले आफ्नो आधिकारिक एक्स (पूर्व ट्विटर) अकाउन्टमार्फत दुर्घटनाको पुष्टि गर्दै भनेको छ, “AI171, अहमदाबाद-लन्डन गेटविक उडान, १२ जुन २०२५ मा दुर्घटनामा परेको छ। हामी थप जानकारी संकलन गर्दैछौं र चाँडै अपडेट दिन्छौं।”
दुर्घटनापछि ७ वटा दमकल, एम्बुलेन्स, र एनडीआरएफका २ टोली उद्धारमा खटिएका छन्। घटनास्थलमा प्रहरीको उपस्थिति पनि सक्रिय छ। प्रारम्भिक रिपोर्टहरू अनुसार, केही यात्रु घाइते भएका छन् भने उद्धारकार्य जारी रहेकाले मृतक वा गम्भीर घाइतेबारे आधिकारिक जानकारी आउन बाँकी छ।
भारतीय गृहमन्त्री अमित शाहले तत्कालै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र प्रहरी आयुक्तसँग सम्पर्क गरेर आवश्यक उद्धार सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
न्यूज २४ अनलाइनका अनुसार विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको आशंका गरिएको छ। यद्यपि, उनको अवस्थाबारे आधिकारिक पुष्टि भइसकेको छैन।







