खगेन्द्र अबस्थि काठमाडौं । चर्चित गायिका रचना रिमालको स्वास्थ्यमा समस्या देखिएपछि हाल उनी काठमाडौंको एक निजी अस्पतालमा उपचाररत थिन। रुकुम पश्चिममा सांगीतिक प्रस्तुति दिँदै गर्दा अचानक पेट दुखाइ र शारीरिक असहजताका कारण उनलाई हेलिकप्टरमार्फत राजधानी ल्याइएको थियो। ह्याम्स अस्पतालको आकस्मिक कक्ष हुँदै उनी अस्पतालको क्याबिनमा चिकित्सकको निगरानीमा थिन। प्रारम्भिक परीक्षणपछि चिकित्सकहरूले सानो आन्द्रामा संक्रमण देखिएको बताएका थिए। उनको एन्टिबायोटिकको माध्यमबाट उपचार भएको थियो। अवस्था खतरामुक्त भए पनि पूर्ण आराम आवश्यक भएको बताइएको छ। तर, यतिबेला रचनाको स्वास्थ्य अवस्थाभन्दा बढी चर्चा सामाजिक सञ्जालमा देखिएका तस्बीरहरूको हुन थालेको छ। अहिले उनलाइ अस्पतालले डिस्चार्ज गरेको छ।
भेटघाट वा प्रचार?
गायिका रिमाल अस्पतालमा भर्ना भएको खबर बाहिर आएसँगै एकपछि अर्को गर्दै कलाकार, गायक–गायिका, मिडिया कर्मी तथा अन्य शुभेच्छुकहरू अस्पताल पुगे। स्वास्थ्य लाभको कामनाका लागि जानु मानवीय र सुसंस्कृत व्यवहार हो। तर, यस्ता भेटघाटका क्रममा कैयौंले रचनासँग अस्पतालको बिछ्यौनामै बसेर खिचिएको तस्बीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै “#getwellsoonRachana”, “#visited”, “#supportingourartist” जस्ता ह्यासट्यागसहित पोष्ट गर्न थालेपछि प्रश्न उठ्न थालेको छ — के उनीहरू स्वास्थ्य लाभको कामनाका लागि गएका थिए, कि फोटो सेसनका लागि?
रचना अझै उपचारकै क्रममा छिन्, पेटमा समस्या छ, शरीरमा एन्टिबायोटिक्स चल्दैछ। यस्तो अवस्थामा मानसिक आराम अत्यावश्यक हुन्छ। तर अस्पतालभित्रै कलाकारहरूको भिड, फोटो खिच्ने होड, टिकटक र इन्स्टाग्रामका लागि तस्बीर सार्वजनिक गर्ने प्रवृत्तिले रोगीको अवस्थालाई कत्तिको सम्मान दिएको हो त?
कतिपयले यस अवस्थालाई “सहानुभूतिको ब्रान्डिङ” भनेका छन्। अर्थात् रचनासँगको सम्बन्ध देखाउँदै आफैंको छविलाई स्थापित गर्न खोज्ने प्रयास। भेट्न जानु स्वाभाविक हो, तर ‘ल है हामि भेट्न आयौं’ भन्दै फोटो खिचेर सामाजिक सञ्जालमा प्रचार गर्नु कति उचित हो? यो प्रश्न सामाजिक सञ्जालमा बहसको विषय बनेको छ। एक वरिष्ठ कलाकार भन्छन्, “आजभोलि अस्पतालमै कलाकारको बेडसम्म पुगेर तस्बीर खिच्ने अनि त्यसलाई आफ्नै ब्रान्डको रूपमा प्रयोग गर्ने प्रवृत्ति मौलाएको छ। यस्तो गर्नु नैतिक हिसाबले गलत हो।”
यता, रचनाको परिवारले भने अत्यधिक भीडले स्वास्थ्यमा थप असर गर्न सक्ने भएकाले भेटघाटलाई सीमित राख्न अनुरोध गरिसकेको छ। अस्पतालका स्रोतका अनुसार केही समयदेखि धेरैजसो कलाकार आएर केही मिनेट बसेर फोटो खिचेर बाहिरिने गरेका छन्।
चिकित्सकहरू भन्छन् — “बिरामीलाई शारीरिकभन्दा बढी मानसिक शान्ति आवश्यक हुन्छ। धेरै व्यक्तिहरूको उपस्थितिले बिरामी तनावमा जान सक्छन्।” त्यसमाथि क्यामेरा, भिडियो, कुराकानी – यी सबैले बिरामीलाई असहज बनाउँछ। रचना रिमाल २०७२ सालबाट नेपाली संगीतमा सक्रिय रहँदै आएकी छिन्। ‘फुलबुट्टे सारी’ गीतले उनलाई घर–घरमा पुर्याएको थियो। चर्चामा रहेकै कारण सानातिना घटनाहरू पनि मिडियाको केन्द्रमा आउँछन्। तर, बिरामी अवस्थामा पनि मिडियाको स्पटलाइटमा रहनु कलाकारका लागि कतिको सहज होला? यसबारे एक संचार विश्लेषक लेख्छन् – “हामी कलाकारलाई देवता जस्तै मान्छौं, तर उनीहरू पनि मान्छे नै हुन्। जब उनीहरू बिरामी हुन्छन्, उनीहरूलाई सहानुभूति, विश्राम र आत्मबल चाहिन्छ, क्यामेरा र प्रचार होइन।”
रचनाको तर्फबाट चुपचाप…
रचना स्वयं अहिले सामाजिक सञ्जालमा सक्रिय छैनन्। अस्पतालबाट कुनै सन्देश आएको छैन। पारिवारिक स्रोतका अनुसार उनी बोल्न सक्ने अवस्थामा छन्, तर सञ्चार गर्न चाहनु भएका छैनन्। यसले पनि देखाउँछ — उनलाई अहिले प्रचार होइन, शान्ति र स्वास्थ्य चाहिएको छ। सर्जक, कलाकार, पत्रकार वा शुभेच्छुक जो कोही पनि बिरामीलाई भेट्न जान सक्छ। तर त्यहाँ पुग्दा आफ्नै उपस्थितिको प्रचार गर्नु कत्तिको जायज हो? हामी सबैले यो प्रश्न आफैंलाई सोध्न जरुरी छ। साँच्चै माया गर्ने हो भने, तस्बिर होइन, मौन साथ दिऔं। स्वास्थ्य लाभको कामना साँचो हृदयबाट गरौं, सामाजिक सञ्जालका लाइक, कमेन्ट र ह्यासट्यागको लागि होइन।
रचना रिमाल अहिले स्वास्थ्य लाभतर्फ अग्रसर छिन्। चिकित्सकहरूले उनलाई आरामको सल्लाह दिएका छन्। हामी सबैले उनी चाँडै निको होउन् भनेर कामना गरौं। तर हाम्रो माया, साथ र समर्थन देखाउने माध्यम यति आत्मकेन्द्रित हुनुहुँदैन कि बिरामीको स्वास्थ्यभन्दा आफ्नो पोस्ट प्राथमिक लाग्न थालोस्। सहानुभूति जताउँदा पनि शिष्टाचार आवश्यक हुन्छ — र आजको दिन त्यो हामीले सिक्नैपर्ने पाठ हो।







