काठमाडौं । नेपाली फिल्म क्षेत्र अहिले एक अनौठो मोडमा आइपुगेको छ, जहाँ फिल्म हलभन्दा बढी चर्चामा छन् ती होटेल रेस्टुरेन्टहरू, जहाँ दर्शक हैन, फिल्मकै निर्माता र निर्देशकले आफू किनेका टिकट बाँडिरहेका हुन्छन्। अहिलेको समय यस्तो आएको छ फिल्म रिलिज भए पनि दर्शक हलसम्म पुग्दैनन्। बरु अनामनगरका रेस्टुरेन्ट, चिया पसलमा “हेर न नि फिल्म, टिकट त नि फ्री छ!” भन्ने आवाज बढी सुनिन्छ।
नेपाली फिल्म उद्योगको अहिलेको अवस्था हेर्दा, यो बिन्दुमा आइपुग्नुको पछाडि गहिरा कारण छन्। सबभन्दा प्रमुख कारण कमजोर पटकथा, हलुका निर्देशन, र स्टार कलाकारमाथिको अन्धभक्तिमा गरिएको लगानी। बैशाख र जेठ महिनाभर मात्रै १० ओटा नेपाली फिल्महरू प्रदर्शनमा आए, तर तीमध्ये अधिकांश फिल्मले न त राम्रो व्यापार गर्न सके, न दर्शकको मन जित्न। कतिपय फिल्म त दर्शक नआएको कारण एक हप्ताभित्रै हलबाट हटाइएका थिए।
फिल्म प्रदर्शन हुनुअघि प्रेसमिट, रेड कार्पेट शो, प्रोमोशन, अनि सेलिब्रिटीको सामाजिक सञ्जालका पोस्टहरूले गर्दा फिल्मको “हाइप” त राम्रै देखिन्छ। तर, जब हलमा दर्शक आउँदैनन्, तब निर्माता निर्देशकहरू आफै टिकट किनेर चिनजानका साथीहरू, आफन्त, अनि होटेल रेस्टुरेन्ट मालिकहरूलाई बाँड्न थाल्छन्। टिकटको त्यो थुप्रो अनामनगर, नयाँ बानेश्वर, थापाथलीका कैयौं होटल र क्याफेहरूमा भेटिन्छ।
यी टिकट पाउने होटेल कर्मचारीहरू, जसमा डीस वासरदेखि वेटरसम्म पर्छन्, एकछिन त सोच्दछन् “फिल्म त फ्रीमा हेर्न पाइन्छ, जाउँ कि क्या हो?” तर जब उनीहरूले फिल्मको ट्रेलर हेर्छन्, समीक्षा पढ्छन् वा पहिलाका अनुभव सम्झन्छन्, तब धेरैजसोको निर्णय स्पष्ट हुन्छ “टाइम वेस्ट!” अनि त्यो टिकट अन्ततः डस्टबिनमा पुग्छ।
यो वर्ष जेठ महिनामा मात्रै ५ ओटा नेपाली फिल्म प्रदर्शनमा आए। “उनको स्विटर” नामक फिल्मले केही हदसम्म राम्रो व्यापार गर्यो, जुन चलचित्र अर्ग्यानिक प्रेमकथा केन्द्रित कथामा आधारित छ। त्यस बाहेकका फिल्महरूको अवस्था एकदमै कमजोर रह्यो। केही त यति कमजोर थिए कि लगानी नै उठाउन सकेनन्। फिल्म बजारमा एउटा भनाइ प्रचलित छ “भिड बनाई फिल्म बनाउ, दर्शक आफै आउँछ।” तर त्यो भनाइले अब काम गरिरहेको देखिन्न।
विश्लेषकहरू भन्छन्, अहिलेको सिने उद्योगले बाहिरी चमकधमकमा बढी ध्यान दिइरहेको छ। स्क्रिप्ट, निर्देशन, कथा र प्रस्तुति भने दोस्रो प्राथमिकतामा राखिएको छ। त्यसमाथि, कतिपय निर्माता निर्देशकहरू यति आत्ममुग्ध छन् कि स्टार कलाकार छ भने फिल्म चल्छ भनेर सोच्दछन्। तर, पछिल्लो समय दर्शक धेरै सशक्त बनेका छन्। उनीहरूले कथा, अभिनय, प्रस्तुति, सम्पादन सबैमा गुणस्तर खोज्दछन्।
राजेश हमालको ८ वर्षपछि कमब्याक” भनेर बजारमा ल्याइएको फिल्म नरसिंहा अवतारलाई उदाहरणका रुपमा हेर्न सकिन्छ। यो फिल्मलाई ठुलो बजेट, चर्चित कलाकार र प्रचारप्रसारका भरमा “हिट” बनाउने सपना देखिएको थियो। तर हलमा दर्शकको कमीले गर्दा फिल्म हलबाट निस्किएको छ। त्यसपछि पनि निर्माता निर्देशकहरूले आत्मसमीक्षा गर्नुभन्दा नेपाली दर्शकलाई स्तर चाहिन्छ भन्ने भ्रममा दोष थोपर्ने गरेका छन्। यिनीहरूले कहिल्यै आफूले बनाएको फिल्ममा गम्भीर गल्ती कहाँ भयो भन्ने आत्ममूल्यांकन गर्दैनन्।
यो सबै समस्याका बीच पनि नयाँ फिल्म निर्माणको चाप भने घटेको छैन। अझ भनौं, यो भिड झनै बाक्लिएको देखिन्छ। सामाजिक सञ्जालमा चर्चित भइसकेका अनुहारहरू, छोटो समयमा पैसा कमाउने चाहना बोकेका लगानीकर्ता, अनि फिल्म बनाउन पाए जिन्दगी सार्थक हुन्छ भन्ने सपना बोकेका निर्देशकहरूको लहर लागेको छ। तर दुःखको कुरा, यीमध्ये धेरैलाई सिनेमा एउटा गहिरो अध्ययन, अनुसन्धान र अभ्यासको विषय हो भन्ने बोध छैन। जसका कारण फिल्म त बनाउँछन्, तर दर्शकलाई दिन सक्ने सामग्री हुँदैन।
फिल्म एउटा सशक्त माध्यम हो समाजसँग संवाद गर्ने, भावना बाँड्ने र सोच परिवर्तन गर्ने। तर त्यो सबै त्यतिबेला मात्र सम्भव हुन्छ, जब फिल्म दर्शकको मन छोएको हुन्छ। टिकट बाँडेर हैन, फिल्म हेरेर दर्शकले वाह भन्नु पर्दछ। अनामनगरको रेस्टुरेन्टमा थुपारिएका टिकटहरूले नेपाली सिनेउद्योगको तीतो यथार्थ उजागर गर्छ बजारमा भीड त छ, तर दिशा छैन। यदि तपाईं नेपाली फिल्मको भविष्य उज्यालो होस् भन्ने चाहनुहुन्छ भने, दर्शकको सट्टा आफैंलाई सोध्नुहोस् “म यो फिल्म हेर्न पैसा तिर्न तयार छु कि छैन? जब त्यो उत्तर सकारात्मक आउँछ, त्यतिबेला मात्र तपाईंको फिल्म सफल हुनेछ।







