नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत मंगलबार (मंसिर १६) चितवन राइनोजले साबिक विजेता जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर जनकपुरलाई फिल्डिङको निम्तो दिए । लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुर यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ । चारमध्ये दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ ।आजै अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीका निम्ति यो खेल प्लेअफमा पुग्न महत्त्वपूर्ण छ । चारमध्ये एक खेल मात्र जितेको पोखरालाई विजयी भए प्लेअफमा पुग्न सहज हुनेछ । कर्णालीका निम्ति भने यो खेल ‘गर या मर’को अवस्थामा छ । यही मंसिर १ गतेदेखि सुरु प्रतियोगितामा १९ खेल सम्पन्न भइसकेको छ । अपराजित सुदूरपश्चिम रोयल्स १० अंक जोडेर प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।







