नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गुर्खाजका स्पिनर साहब आलमले ह्याट्रिक विकेट लिएका छन् ।दोस्रो इनिङको अन्तिम ओभरमा उनले लगातार बलमा तीन विकेट लिएसँगै काठमाडौंले पोखरालाई १३ रनले हराएको हो । आलमले कुल ६ विकेट लिए । पोखरालाई जितका लागि अन्तिम ओभरमा २० रन चाहिएको थियो । हातमा ४ विकेट थिए । तर आलमले पहिलो तीन बलमा लगातार विकेट लिएर पोखराको आशामा पानी खन्याइदिए । पहिलो बलमै उनले आक्रमक अर्धसतक बनाउँदै खेलमा पोखरालाई कमब्याक गराएका रिऋि धवनको विकेट लिए । साहबको बलमा ठूलो सट खेल्न खोज्दा धवन मिलिन्द कुमारको हातबाट क्याचआउट भएका थिए । दोस्रो बलमा विपिन खत्रीलाई स्टम्पिङ गर्न सफल भए । तेस्रो बलमा आकाश चन्दलाई पनि मिलिन्दकै बलमा क्याचआउट गराए । अन्तिम तीन बलमा २० रन पोखराका लागि असम्भव बन्यो । चौंथो बलमा सागर ढकालले छक्का प्रहार गरे । अन्तिम बलमा ढकाललाई पनि आलमले आउट गरेर आफ्नो खातामा ६ विकेट पुर्याए ।







