नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण सकिएको छ। सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणको उपाधि जितेको हो। नयाँ च्याम्पियन पाए पनि एनपीएलको पहिलो र दोस्रो संस्करणको उपविजेता टिम भने एउटै बन्यो। सुदूरपश्चिम रोयल्स पहिलो संस्करणको पनि उपविजेता थियो भने दोस्रो संस्करणमा पनि उपविजेतामा सीमित भयो। पहिलो संस्करणमा लिग चरणको पुछारमा रहेको लुम्बिनी लायन्सले दोस्रो संस्करणमा उपाधि जित्छ भन्ने कसैको परिकल्पना पनि थिएन। लिगको पुछारबाट च्याम्पियनसम्म लुम्बिनी लायन्सले तय गरेको यात्रा पक्कै सहज थिएन। तर असम्भव भने टिमले मानेन। यही विश्वास र उत्प्रेरणासहित लिगको पुछारबाट लुम्बिनी लायन्सले च्याम्पियनसम्मको यात्रा तय गर्यो।दोस्रो संस्करणको एनपीएलका लागि लुम्बिनी लायन्स ‘सरप्राइज’बन्यो। कसैले अपेक्षा नै नगरेको लुम्बिनीको सिंहले शीर्ष चारभित्र स्थान बनाउँदै तेस्रो, दोस्रो र पहिलो टिमलाई पाखा लगाउँदै उपाधिमा आफ्नो पन्जा लम्कायो।दोस्रो संस्करणमा पहिलो खेल जित निकाले पनि त्यसपछिका लगातार तीन खेलमा हार व्यहोरेपछि लुम्बिनी लायन्स प्लेअफमा पनि स्थान बनाउँदैन कि! भन्ने शङ्का र उपशंकाका बीचमा स्थान बनाउने टिम हो। लुम्बिनी लायन्सले त्यसपछिका लगातार चार खेलमा जित दर्ता गर्दै प्लेअफ, एलिमिनेटर, दोस्रो क्वालिफायरको चरण पार गर्दै फाइनलमा स्थान बनाएको थियो। फाइनलमा लुम्बिनी लायन्सले लिग चरणमा निकै राम्रो लय कायम गरेर पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको सुदूरपश्चिम रोयल्ससँग खेलेको थियो।







