राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार कारागारमुक्त हुने भएका छन्।उच्च अदालतल तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम सहकारी ठगी मुद्दामा बिगोबापतको धरौटी बुझाएर थुनामुक्त गर्न बिहीबार आदेश दिएको थियो।थुनामुक्त हुन उनी भैरहवास्थित जिल्ला अदालत प्रस्थान गर्न लागेका छन्। अहिले उनी त्रिभुवन विमानस्थल पुगेका छन्। त्यहाँबाट उनी जहाजमा भैरहवा जानेछन्। जिल्ला अदालत रूपन्देहीबाट छुट पुर्जी लिएपछि मात्रै लामिछाने थुनामुक्त हुनेछन्। उनले धरौटी बापतको १ करोड रूपैयाँ बुझाउनुपर्नेछ।बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको अभियोगमा लामिछाने सहित चार जना व्यक्तिहरूलाई १० करोड ९९ लाख ३६ हजार रूपैयाँ सामूहिक बिगो कायम गरिएको थियो। लामिछानेले आफ्नो भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रूपैयाँको बैंक ग्यारेन्टी भने गत साउन २२ गते नै बुझाइसकेका थिए।गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीको आदेशपछि १ करोड रूपैयाँ धरौटी जम्मा गरेर लामिछाने रिहा भएका थिए। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्लाको आदेश बदर गरिदिएपछि भने उनले धरौटी बापत बुझाएको १ करोड रूपैयाँ फिर्ता लगेका थिए। बिहीबारको उच्च अदालतको आदेशपछि भने लामिछानेले धरौटी बापतको १ करोड रूपैयाँ अदालतमा बुझाउनुपर्ने छ।







