हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण बढ्न थाल्छ । यस वर्ष पनि मौसम चिसिँदै जाँदा वायुप्रदूषणको मात्रा बढ्न थालेको छ । जाडो मौसममा हावा चिसो हुन्छ । चिसो हावाको घनत्व बढी हुने भएकोले यो तातो हावा जस्तो सहजै उडेर जान सक्दैन ।चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । यसरी चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ । जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ । अर्को भनेको वायुमण्डलको प्रदूषण पखाल्नका लागि यो मौमसमा हत्तपत्त वर्षा पनि हुँदैन ।जाडो सुरु भएसँगै प्रदूषण बढ्दै गएको छ, जसले गर्दा बिरामीहरूको संख्या पनि ह्वात्तै बढिरहेको वरिष्ठ छातीरोग विशेषज्ञ डा. राजु पंगेनी बताउँछन् । ‘पोहोर साल पनि यस्तै स्थिति थियो, तर अहिले त एक महिनामा नै १० गुणा बढी बिरामीहरू देखिएका छन्’ डा. पंगेनी भन्छन्, ‘पहिले दैनिक ४–५ जना आउँथे भने अहिले इमर्जेन्सीमा ५० जना पुग्न थालेका छन् ।’यो मौसममा यातायातका साधनबाट आउने धुवाँ, भोज भतेर, बिहे, दाउरा बाल्ने र आगो ताप्ने जस्ता क्रियाकलापहरूले प्रदूषण थप बढाएको छ, विशेष गरी भारतको दिल्ली जस्ता प्रदूषित ठाउँबाट फर्कनेहरूलाई बढी समस्या देखिएको डा.पंगेनीले जानकारी दिए ।प्रदूषित वायुमा कार्बनमोनोअक्साइड, ओजन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता हानिकारक सूक्ष्म कण हुन्छन् । जसले मानिस, जनावर र वनस्पतिमा हानिकारक प्रभाव पार्छ ।वायुप्रदूषणले मानव शरीरको हरेक अंगमा असर पार्छ । तत्कालीन र दीर्घकालीन रूपमा विभिन्न प्रकारको स्वास्थ्य समस्या निम्ताउने पंगेनीले बताए । डा.पंगेनीका अनुसार वायु प्रदूषणले सबैभन्दा पहिले त श्वासप्रश्वास प्रणालीका अंगहरू नाक, मुख, घाँटी, श्वासनली र फोक्सोमा असर गर्छ । जसले निमोनिया, दम र फोक्सोको क्यान्सर जस्ता दीर्घकालीन समस्या निम्याउन सक्छ ।







