राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवनको भरतपुर पुगेका छन् । रिहाइको प्रक्रिया पूरा गर्न रुपन्देही जान लागेका लामिछाने प्रतिकूल मौसमका कारण सिधै उडान हुन नसकेपछि विमानबाट भरतपुर गएका हुन् ।लामिछाने भरतपुरबाट स्थलगतमार्ग हुँदै केहीबेरअघि गाडीमा रुपन्देही प्रस्थान गरेका छन् ।बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको छ ।संगठित सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने बिगोबापतको रकम बुझाएर रिहाइ गर्न माग गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका थिए ।उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ । सोहीअनुसार रवि भैरहवा जान लागेका हुन् ।







