पाकिस्तानले एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा भारतलाई १९१ रनले हराउँदै पाकिस्तानले उपाधि जितेको हो ।पाकिस्तानले दिएको ३४८ रनको विशाल लक्ष्य पछ्याएको भारत २६.२ ओभरमा १५६ रनमा अलआउट भयो ।त्यसअघि ओपनर समीर मिनहासले शानदार शतकसहित १७२ रन बनाएपछि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रन बनाएको थियो ।समीरले ११३ बलमा १७ चौका र ९ छक्कासहित १७२ रन बनाए । अहमद हुसेनले ५६ रन बनाए ।भारतका लागि दीपेश देवेन्द्रनले ४ विकेट लिए । हेनिल पटेल र खिलान पटेलले २-२ तथा कनिष्क चौहानले १ विकेट लिए ।समूह चरणमा भएको खेलमा भारतले पाकिस्तानलाई हराएको थियो । त्यसको बदला पाकिस्तानले फाइनलमा लिएको छ ।नेपाली टोली भने यस प्रतियोगितामा समूह चरणमा ३ वटै खेलमा हार बेहोरेर बाहिरिएको थियो ।







