भारतको तेलंगाना प्रहरीले अभिनेता अल्लु अर्जुनसहित २३ जनालाई भागदौड मच्चाएको आरोप लगाएको छ । नामपल्ली अदालतमा दायर गरिएको १०० पृष्ठको आरोपपत्रमा, व्यवस्थापनको अभावका कारण भागदौड मच्चिएको उल्लेख गरिएको छ ।गत वर्ष, डिसेम्बर ४, २०२४ मा, हैदराबादको आरटीसी क्रस रोडमा रहेको सन्ध्या थिएटरमा ‘पुष्पा २ : द रुल’ को प्रिमियर प्रदर्शनको क्रममा भागदौड मच्चिएको थियो । रेवती नामकी एक महिलाको मृत्यु भएको थियो भने उनको ८ वर्षीय छोरा श्रीतेज गम्भीर घाइते भएका थिए ।एकसय पृष्ठको आरोपपत्रमा हल व्यवस्थापकलाई भीड नियन्त्रण गर्न नसकेको भन्दै आरोप लगाइएको छ । अभिनेता अल्लु अर्जुनको नाम आरोपीको ११ औं नम्बरमा छ ।साथै, उनका निजी सुरक्षा कर्मचारी, व्यवस्थापक, ३ म्यानेजर र ८ बाउन्सरलाई सूचीमा सामेल गरिएको छ । भारतीय दण्ड संहिता (आईपीसी) को धारा १०५, ११८(१), ३०४-ए (लापरवाहीले मृत्यु निम्त्याउने) र सार्वजनिक सुरक्षालाई खतरामा पार्ने अन्तर्गत आरोपहरू दायर गरिएको थियो ।अनुसन्धान गर्ने चिक्कडपल्लीका एसीपी रमेश कुमारका अनुसार, प्रहरीले अर्जुनका म्यानेजर सन्तोषलाई स्थिति नियन्त्रण बाहिर गइरहेको जानकारी गराएको थियो । भागदौडको नवौं दिन, डिसेम्बर १३ मा अल्लु अर्जुनलाई पक्राउ गरिएको थियो । डिसेम्बर १४ मा तेलंगाना उच्च अदालतले उनलाई जमानत दिएको थियो ।जमानत पाएपछि, डिसेम्बर ३१ मा अल्लु अर्जुनलाई तीन घण्टाभन्दा बढी सोधपुछ गरियो । उनी बिहान ११ बजे चिक्कडपल्ली प्रहरी चौकीमा पुगे र दिउँसो २ः४५ बजेसम्म सोधपुछ गरियो । हैदराबाद सेन्ट्रल जोन डीसीपीको नेतृत्वमा रहेको टोलीले अभिनेतालाई सोधपुछ गरेको थियो ।रिपोर्टका अनुसार, अल्लु अर्जुनलाई सोधिएको थियो कि उनी घटनास्थलमा उपस्थित थिए कि थिएनन् ? उनले परिस्थितिलाई कसरी सम्हाले ? उनले जवाफ फर्काएका थिए, “मैले भोलिपल्टै महिलाको मृत्युको बारेमा थाहा पाएँ ।डिसेम्बर २२ मा, हैदराबादको उस्मानिया विश्वविद्यालयका केही व्यक्तिले अल्लु अर्जुनको घरमा तोडफोड गरे । यस मुद्दामा आठ जना अभियुक्तलाई पक्राउ गरिएको थियो । तीमध्ये ६ जनालाई डिसेम्बर २३ मा जमानत दिइएको थियो ।हैदराबादमा ‘पुष्पा २’ को प्रदर्शनका क्रममा भएको भागदौडमा ज्यान गुमाउने महिलाको परिवारलाई ‘पुष्पा’ फिल्म टिमले २ करोड भारु सघाएको छ । कमाईको हिसाबले ‘पुष्पा २’ ब्लकबस्टर भएको थियो । लगभग ४०० करोड भारुको लागतमा बनेको यो फिल्मले विश्वव्यापी रूपमा लगभग १६ अर्ब भारु कमाएको थियो ।







