राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी सहिद रसिक खतिवडाकी आमा रचना खतिवडाको नाम समानुपातिक सूचीमा राखेको छ। खतिवडा समानुपातिक सूचीमा खस आर्य महिला क्लस्टरबाट नवौं नम्बरमा छन्। उक्त क्लस्टरबाट प्रतिभा रावल पहिलो नम्बरमा छिन्। त्यसपछि विद्षी राणा, लिमा अधिकारी (आचार्य), श्रद्धा कुँवर, समीक्षा बास्कोटा, टीका संग्रौला, क्रान्तिशिखा धिताल, मञ्जु भूसालपछि रचनाको नाम उल्लेख छ।खतिवडाले पनि आफ्नो नाम रास्वपाको समानुपातिक सूचीमा रहेको पुष्टि गरेकी छन्।उनका अनुसार केही अघि रास्वपा सभापति रवि लामिछानेले आफूलाई भेटेरै राजनीतिमा आउनुपर्ने बताएका थिए।’आफ्नो छोराको न्यायका लागि तपाईं राजनीतिमा आउनुपर्छ भन्नुभएको थियो,’ उनले भनिन्।रसिक काभ्रेका हुन्। भदौ २३ गते, बिहान साढे ८ बजेको थियो।रचना खतिवडा भान्सामा खाना बनाउँदै थिइन्। उनका २२ वर्षीय छोरा रसिक अनलाइनमा कुनै लुगा मनपर्यो भनेर देखाउँदै थिए।त्यही बेला रसिकको मोबाइल बज्यो। उनी कौसीमा निस्किएर गफ गर्न थाले।उनी फर्किएपछि रचनाले कसको फोन भनेर सोधिन्।रसिकले साथीको फोन भने र नुहाउन गए।’दारी काटिवरि चिटिक्क परेर निस्कियो र तपाईंको सनस्क्रिन लगाउँछु भन्दै तल गयो,’ रचनाले त्यो दिन सम्झिँदै भनिन्।उनीहरू घरमा प्रायः आमाछोरा मात्र हुन्थे। रचनाका श्रीमान कामको सिलसिलामा धादिङ बस्थे। छोरी विदेशमा छिन्।’त्यसैले गफ गर्ने साथी भने पनि, जे भनेपछि छोरा नै मेरा लागि सबथोक थियो,’ उनले भनिन्।त्यस दिन बिहान ११ बज्न लागेपछि रसिक हतारिए। खाना पस्किदिनू भन्दै रचनाको अगाडि पुगे। उनले एकछिन पर्खिन भन्दा पनि मानेनन्। रचनाले आफै पस्किएर खा भनिन्। त्यो पनि उनले मानेनन्।’तपाईं पस्किदिनु, म आफै त पस्किएर खान्नँ भन्न थाल्यो। त्यसपछि कुचो छाडेर खाना पस्किदिएँ,’ रचनाले भनिन्।रसिक हतारमा खाँदै थिए। रचनाले किन हतार गरेको भनेर सोधिन्।उनले जेनजी आन्दोलनमा जान लागेको भने।’साथीहरू सबै जना जान्छन्, म पनि एकछिन पुगेर आउँछु, यो आन्दोलन हाम्रै लागि हो भन्यो,’ रचनाले सुनाइन्, ‘हामी विदेश जानु नपरोस् भनेरै यो आन्दोलन भएको हो, त्यसैले हामी जानुपर्छ भन्यो।’रचनाले पटक पटक नजान भनिन्। रसिकको फोन फेरि बज्यो। उनी टेबलबाट उठे र हतार हतार उभिएरै खाना खाएर हिँड्न लागे।रचनाले अनेक भनेर रोक्न खोजिन्। रसिक उल्टै सम्झाउन थाले।यो आन्दोलनमा हामी जानैपर्छ भन्दै बरू बीचमा जान्नँ, छेउमा बस्छु, दुई बजे आउँछु भनेर निस्किए।उनका दुई जना साथी बाइकमा घरै आइपुगे। रसिक निस्किए र जाँदाजाँदै दुई बजे जसरी पनि आइपुग्छु भनेर फेरि बाचा गरे।रसिक प्रायः आफूले भनेकै समयमा आइपुग्थे। त्यस दिन पनि आइपुग्छ भन्ने विश्वास भयो। रसिक दुई बजे चिया, खाजा बनाएर रचनालाई खुवाँउथे। होटल म्यानेजमेन्ट विषयमा प्लस–टू सकेर बसेका उनी सबै परिकार मिठो बनाउँथे।त्यसपछि रचना घरको काममा लागिन्। बेला बेला छोरा फर्किने समय भयो कि भन्दै घडी हेरिरहिन्।साढे १ बजेतिर उनले रसिकलाई फोन गरिन्। फोन उठ्यो तर उताबाट कोही बोलेन। मानिसको चर्को आवाज र होहल्ला मात्र सुनियो। रचनाले फोन काटिदिइन्।दुई बज्दा पनि छोरा नआएपछि उनी आत्तिन थालिन्। बारम्बार फोन गरिन्। तर लागेन।’छोराको फोन नलाग्दा मन बेचैन भयो। त्यस्तो छट्पटी कहिल्यै भएको थिएन,’ उनले भनिन्, ‘कहिले कोठा, कहिले तल र कहिले छतबाट छोरा आयो कि भन्दै हेरी मात्र रहेँ।’उनले फोन पनि गरिरहिन्। तर लाग्दै लागेन।अपराह्न साढे ४ बजेतिर रसिकका दुई साथी घर आइपुगे। रचना बाहिर निस्किइन्।साथीहरूले रचनालाई रसिकको ज्याकेट र मोबाइल दिँदै भने — रसिक एकछिनमा आउँछ। बाटोमा छ। ज्याकेट र मोबाइल क्याफेमा छाडेको भएर हामीले ल्याइदिएका हौं।रसिक आफ्नो मोबाइल कहिल्यै छाड्दैन थिए। शौचालय जाँदा समेत लिएर जान्थे। साथीहरूलाई रचनाले यही कुरा भनिन्। साथीहरूले पनि आफ्नै कुरा दोहोर्याए र निस्किए।त्यसपछि रचना झन् अलमल परिन्। छोराको मोबाइल नै आफ्नो हातमा भएपछि कसलाई फोन गर्ने!







