विज्ञान कथामा आधारित नेपाली फिल्म ‘एक्लो’ को विश्व प्रिमियर अमेरिकाको न्यूयोर्कमा गरिएको छ । नेपाली समयानुसार सोमबार बिहान एस्टोरियास्थित ‘म्युजियम अफ द मूभिङ इमेज’ मा फिल्मको प्रिमियर गरियो ।प्रिमियर समारोहमा अभिनेताद्वय प्रदीप खड्का र जेमी बेकन सहभागी थिए । मिस नेपाल नर्थ अमेरिकाका संस्थापक शैलेश श्रेष्ठ, सह-संस्थापक लाक्पा वाङ्बु तामाङ, तमु परिवार न्यूयोर्ककी अध्यक्ष मनिता गुरुङ, वरिष्ठ नृत्य निर्देशक गोविन्द राई समारोहमा सहभागी रहे ।‘बनिरहेका नेपाली फिल्मभन्दा भिन्न र उत्कृष्ट छ । भीएफएक्स, अभिनय र निर्देशनमा गजबको छ’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘साइन्स फिक्सन कथा राम्रो लाग्यो । डेब्यू भएर पनि कविता नेपालीको अभिनय अनुभवीजस्तै छ ।’‘समग्रमा फिल्मलाई फरक बनाउने प्रयास भएको छ’ शैलेशले भने । सो अवसरमा नेपाली अमेरिकी दर्शकसहित गैर-नेपाली दर्शक पनि सहभागी थिए । हलिउडका केही चर्चित फिल्मको प्रिमियर हुने उक्त थलोमा ‘एक्लो’ ले अवसर पाएको थियो ।प्रदीप शाही निर्देशित फिल्म १ जनवरी, २०२६ (१७ पुस, २०८२) देखि नेपालमा रिलिज तयारीमा छ ।







