एकाबिहानैको समय । धेरै त विछ्यानमै थिए सायद । काठमाडौं भर्खरै उठ्दै थियो । युवा उमेरका आभास एउटा अपेक्षा लिएर बागबजार जाँदै थिए, प्रेमध्वज प्रधानलाई भेट्न, उनकै घरमा । त्यहाँ गएर ‘यसो गर्छु, उसो गर्छु’ आभास मनमा कल्पिँदै थिए ।संयोगवस मर्निङ वाकबाट फर्किरहेका प्रेमध्वज प्रधानसँग घरअगाडि नै उनको भेट भयो । बाटोमै उभिएर उनले प्रधानसँग आफ्नो कुरा राखे । तर, प्रधानले उनको कुरालाई ठाडै अस्विकार गरिदिए । र, घरमा समेत बोलाएनन् ।खासमा प्रधानलाई पलेँटीमा गाउनका निमित्त आग्रह गर्न आभास गएका थिए ।आज त्यो समय बितेको पनि वर्षौं भइसक्यो ।दु:खको कुरो, प्रेमध्वज प्रधान हामी माँझ छैनन् । भलै पलेँटीमा प्रधानको उपस्थिति डिजिटल अर्काइभमा कैद छ । अर्थात्, कुनै समय गाउन अस्विकार गरेका प्रधान अन्तरालमा पलेँटी फर्किए ।त्यही पलेँटी, डिसेम्बर २०२५ सकिएसँगै २० वर्षको वयस्क भएको छ । दुई दशक पार गरेको पलेँटी झरिलो भएको छ । वलिष्ठ, आकर्षक छ । चकमकाउँदो र एक सुन्दर युवतीले झैं शहरमा सुन्दरता छरिरहेको छ ।तर बालसुलभमा हुँदा पलेँटीलाई कम्ता सकस थिएन । नाम चलिसकेका गायक/संगीतकारहरू हत्तपत्त पलेँटीमा पलेँटी कस्न आउन मान्दैनथे । त्यसको एउटै कारण– दुई घण्टासम्म पलेँटी कसेर लगातार गाउनु थियो । त्यो पनि प्रत्यक्ष ।प्रेमध्वज प्रधानले आभासको सुरुआती प्रस्ताव अस्विकार गर्नुमा त्यही नै मुख्य कारण थियो । तर, आभासको आड पाएर पलेँटी हुर्किरह्यो । रोनाधोना गरेरै ठीक, पलेँटी अघि बढिरह्यो । यो मानेमा आभास पलेँटीका अभिभावक हुन् । उनले पलेँटीलाई साँच्नै कुनै बालकझैं गरेर हुर्काए ।







