अनुपविक्रम शाहीलाई यतिबेला भाग्यले साथ दिइरहेको छ । एकपछि अर्को गरि उनले नतिजा आफ्नो पोल्टामा पारिरहेका छन् । सन् २०२५ उनको लागि ‘जादूमयी वर्ष’ बन्यो ।यसवर्ष उनले ‘हिमालय रोडिज’ मा ह्याट्रिक गरे । लगातार तीनैवटा सिजनको नतिजा आफ्नो पोल्टामा पार्नु चानचुने कुरा होइन । यसका लागि सचेत रणनीति र इच्छाशक्ति चाहिन्छ, जुन कुरा उनले पुष्टि गरे ।सबैभन्दा ठूलो कुरा, यसवर्ष उनले सलमान खानको बहुप्रतीक्षित फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यू गरे । भारत र चीनबीचको भूराजनीतिक तनावको कथावस्तु पेश गर्ने यो फिल्म आउँदो अप्रिलमा प्रदर्शन तयारीमा छ ।फिल्मको कूल दृश्यमध्य २५ प्रतिशतमा सलमानसँग अनुपले स्क्रिन सेयर गरेको बुझिएको छ । यसबाहेक, उनी अहिले भुटान र नेपालको सहनिर्माणमा बनिरहेको फिल्म ‘टनेल २६’ मा ब्यस्त छन् । यो प्रोजेक्ट पनि भयंकर हुनेवाला छ ।सबैभन्दा महत्वपूर्ण कुरा, अनुपले निर्विवाद आफूलाई हिमालय रोडिजका सिद्धहस्त ‘ग्याङ लिडर’ को रुपमा सावित गरिसकेका छन् । नेपाली तन्नेरी दर्शकमाझ लोकप्रिय यो विश्वचर्चित फ्रेन्चाइजीको नेपाली संस्करणमा अनुप तेस्रो सिजनयता लगातार छन् ।







