सुनसरीको कोशी गाउँपालिका–१ लौकही नजिकै सशस्त्र प्रहरीको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि सुनसरीको लौकही क्षेत्र तनावग्रस्त बनेको छ । स्थीति तनावग्रस्त भएपछि अश्रुग्यास र हवाइ फायर पनि गरेको छ ।बुधबार राति १ बजे सशस्त्र प्रहरीले चलाएको गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो ।प्रहरी स्रोतका अनुसार घटनास्थल मृतकको घर नजिकै पर्छ । भारतबाट सामान लिएर आउँदै गर्दा सडकमा सशस्त्र प्रहरीको टोलीसँग उनको जम्काभेट भयो । सोही स्थानमा विवादपछि सशस्त्रले चलाएको गोली साहको छातीमा लाग्यो र उनको घटनास्थलमै मृत्यु भयो । साहले चलाएको सिटी सफारीमा ६–७ बोरा चिनी, सरफ, चकलेट लगायतका सामग्री फेला परेका छन् ।स्थानीयको दाबी अनुसार अनुसार मृतक बेलाबेला भारतबाट सामान ल्याएर बिक्री गर्थे । बुधबार राति करिब सवा १ बजे सिटी सफारीमा सामान लिएर आउँदै गर्दा लेनदेनको विवादपछि उनीमाथि गोली प्रहार भयो ।घटनालाई सशस्त्र प्रहरीले ’दोहोरो भिडन्त’ दाबी गरे पनि स्थानीयले भने लेनदेनको विवादमा प्रहरीले एकतर्फी गोली चलाएको आरोप लगाएका छन् ।सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले तस्करी नियन्त्रणका क्रममा तस्करको समूहले सशस्त्रमाथि गोली चलाएपछि जवाफी कारबाही गरिएको दाबी गरे । मान चोरी पैठारी गरेर ल्याउँदै गरेको समूहलाई रोक्न खोज्दा गोली चलाएपछि एपीएफले पनि गोली चलाएको उनले बताए । ‘सामान चोरी गरेर आए, हामीले रोक्न खोज्दा रोकिएन, अगाडि भागेको गाडीबाट फायर गर्यो, एपीएफले पनि फायर गर्यो,’ उनले भने,‘ सुरुमा तस्करको समूहले फायरिङ गरेको हो ।’







