मोरङको ग्रामथान गाउँपालिकाको कार्यालय भित्र आज पनि तनाव भएको छ । उपाध्यक्ष गुणवतीदेवि थारुले लेखा शाखामा लगाएको ताला खोल्न माग गर्दै अध्यक्ष नमोनारायण माझीका समर्थक पुगेपछि पालिकाको कार्यालयभित्र तनाव भएको हो ।प्रदर्शनमा पुगेकाहरूले भने आफू अध्यक्षको समर्थक नभइ ग्रामथानको स्थानीय भएको दाबी गरेका छन् ।लेखा शाखाको ढोका अगाडि उपाध्यक्ष थारुसहित नेकपा एमालेका जनप्रतिनिधि बसेका थिए । लेखा शाखाको ताला खोल्न माग गर्दै प्ले कार्डसहित पुगेका अध्यक्ष माझीका कार्यकर्ताले लेखा शाखामा लगाएको ताला फुटाएका छन् । पालिकाको काम सुचारु गर्न माग गर्दै ताला फोडेका हुन् ।उपाध्यक्ष र अध्यक्षका समथर्कबीच हात हालाहाल पनि भएको थियो । तर प्रहरीले दुवै पक्षालाई रोकेको थियो ।अध्यक्ष माझीले मनोमानी गरेको भन्दै उपाध्यक्ष माझीले लेखा शाखामा ताला लगाएकी थिइन् । गाउँसभा एकलौटी रुपमा सम्पन्न गरेको उनको आरोप छ । पालिकाको बजेट किताबमा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको मन्तब्य मात्रै छ । अध्यक्षले आफ्नो मन्तब्य नराखिएको उनको गुनासो छ ।गतवर्ष मंसिरमा भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रबाट माझीले अध्यक्ष जितेका थिए । उनी निर्वाचित भएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिसँग विवाद भइरहेको छ ।ग्रामथानमा एमालेको बहुमत छ । पालिकामा काम गर्न खोज्दा उपाध्यक्षले बहुमत देखाउँदै आफूलाई काम गर्न नदिएको अध्यक्ष माझीले बताउँदै आएका छन् ।गत पुस ९ गते अध्यक्ष र उपाध्यक्षबीच गाडी प्रयोगको विषयलाई लिएर विराटनगरको बीच सडकमा झगडा भएको थियो । बुधबार अध्यक्ष नोमनारायण माझीले प्रयोग गरेको चाबी जिल्ला प्रशासन कार्यालय नजिकै सडकमा उपाध्यक्ष गुणवतीदेवि थारुले नियन्त्रणमा लिएपछि दुई पक्षबीच सडकमा बाझाबाझ भएको थियो ।







