नेपाली करातेकी स्टार खेलाडी एरिका गुरुङले टर्कीको इस्तानबुलमा आयोजना हुने डब्लुकेएफ कराते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने भएकी छन् ।डब्लुकेएफ कराते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्न ऐतिहासिक पदक विजेता खेलाडी एरिका गुरुङसहित नेपाली कराते टोली टर्की जाँदै छ ।टोलीमा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ तथा राष्ट्रिय रेफ्री कमिशन सदस्य एवं अन्तर्राष्ट्रिय रेफ्री तारा गुरुङ पनि सामेल छन् । नेपाली टोली मंगलबार टर्कीको इस्तानबुल प्रस्थान गर्ने नेपाल कारते महासंघले जनाएको छ ।टोलीलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल कराते महासंघका महासचिव दावा गुरुङले औपचारिक रूपमा बिदाइ गरेका छन् ।विश्व कराते महासंघ (डब्लुकेए) को आयोजनामा हुने कराते वान प्रिमियर लिगमा नेपालले फेरि एक पटक सशक्त रुपमा उपस्थिती जनाउन लागेको हो ।एरिका गुरुङले कराते वान प्रिमियर लिगमा महिला ६८ केजी माथी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । विश्वस्तरका शीर्ष खेलाडीहरू सहभागी हुने कराते वान प्रिमियर लिगमा एरिकाको सहभागितालाई नेपाली करातेका लागि अत्यन्त महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।१९औँ एशियन गेम्समा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी कराते खेलाडी एरिका गुरुङ हाल नेपाली करातेको सबै भन्दा सफल खेलाडीको रुिमा छिन् ।यसअघि उनले मोरक्कोमा भएको डब्लुकेएफ कराते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी थिइन् भने मलेसियामा भएको वर्ल्ड कराते वान सिरिज ए मा स्वर्ण पदक जितेकी थिइन् ।लगातार उत्कृष्ट प्रदर्शन गरिरहेकी एरिकाले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा ल्याउँदै नेपाललाई उपलब्धी दिलाउँदै आएकी छन् ।एरिकासँगै जाने राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ नेपाली करातेमा हाल सम्मकै सर्वाधिक अन्तर्राष्ट्रिय पदक जिताउन सफल प्रशिक्षकका रूपमा परिचित छन् । प्रशिक्षक श्रेष्ठको अनुभव, रणनीति र नेतृत्वले एरिका गुरुङको प्रदर्शनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।टर्कीमा कराते वान प्रिमियर लिग खेलेपछि नेपाली कराते टोली नवौँ हार्लो ओपन इन्टरनेसनल कराते च्याम्पियनसिप र सेमिनारका लागि युकेतर्फ प्रस्थान गर्नेछ । यूकेमा हुने प्रतियोगितामा एरिकासहित नेलि जोशी र प्रज्वशन यामातो श्रेष्ठले सहभागिता जनाउने प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए ।यसै क्रममा यूकेमा ग्रीसका वर्ल्ड र्याङ्क ३ का खेलाडी जेनोसले विशेष सेमिनार पनि प्रदान गर्ने कार्यक्रम रहेको छ । साथै, तमु धि: युकेले एरिका गुरुङलाई विशेष सम्मान गर्ने कार्यक्रमको तयारी गरेको छ ।यूकेमा आयोजना हुने प्रतियोगितामा तारा गुरुङले अन्तर्राष्ट्रिय रेफ्रीको भूमिका निर्वाह गर्नेछिन्।







